Logo

मेडिसिटी अस्पतालमा स्वास्थ्यमन्त्रीले भनिन् : मेरो नर्स बन्ने चाहना अधुरै रह्यो



ललितपुर, २९ बैशाख । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्यमा अर्यालले आफू नर्स बन्न चाहेको भएपनि त्यो चाहना अधुरै रहेको गुनासो गरेकी छिन् ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आज नेपाल मेडिसिटी अस्पतालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । उनले भनिन्,‘कुनै समयमा म पनि नर्स बन्न चाहेको थिएँ, तर मेरो यो चाहना अधुरै रह्यो, आज तपाईहरु नर्सलाई देख्दा मलाई फेरी त्यो नर्स बन्ने सपना देखेको दिनको याद आयो।’

राज्यमन्त्री अर्यालले स्वास्थ्य उपचारमा नर्सहरुको भूमिका प्रमुख हुने बताउँदै भनिन्,‘नर्सहरु २४ सैं घन्टा विरामीहरुको उपचारमा संलग्न हुने भएकोले राज्यलेपनि उनीहरुलाई प्राथमिकता दिएको छ, हामीले पनि स्वास्थ्य सेवामा मुस्कानसहितको सेवालाई अभियानको रुपमा लैजाने योजना बनाएका छौं।’

अस्तपालमा अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल मेडिसिटी अस्पतालले नर्सहरुलाई सँधै उच्च प्राथमिकता दिएको बताए । आगामी दिनमा उनीहरुको सेवामा गुणस्तरीयता ल्याउन आफूहरु लागिपरेको उनको भनाई थियो ।

महतोले नर्सहरुले विरामीप्रति गर्ने व्यवहार तथा उनीहरुको निरन्तर ज्ञान र सीपको परिमार्जनले कुनै पनि अस्पतालको गुणस्तरीयतालाई मापन गर्ने धारणा व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले पनि सम्बोधन गरेका थिए ।

नेपाल मेडिसिटीले सप्ताहव्यापी कार्यक्रमको रुपमा अन्तर–अस्पताल हाजिरी जवाफ प्रतियोगिताको आयोजना समेत गरेको थियो । उक्त प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले प्रथम स्थान हासिल गरेको थियो भने अन्नपूर्ण न्यूरो अस्पताल द्धितिय र नेपाल मेडिसिटी तृतिय भएको थियो ।

सप्ताहव्यापी कार्यक्रमकै दौरानमा नेपाल मेडिसिटी अस्पतालमा वृहत्त सिम्पोजियमको समेत आयोजना गरिएको थियो । जसमा नेपालस्थित् अमेरिकन दुतावासकी नर्स क्यारी सेनगलम्यान, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको साईकियाट्रिक्स नर्सिङ् विभागकी प्रमुख प्राध्यापक समी लामा, अमेरिकन दुतावासकै नर्स फ्रान्कोइस पाहुल, नर्स लिंक अमेरिकाकी शर्ली इभान्सले आफ्नो धारणा राखेका थिए ।

त्यसैगरी, नेपाल मेडिसिटी अस्पतालका आई.सि.यु. कोअर्डिनेटर डा. दिप्तेश अर्याल तथा वरिष्ठ संचारकर्मी प्रभात रिमालले समेत नर्सहरुको भुमिकाको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा अतिथि नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा.तारा पोखरेलको समेत उपस्थिति रहेको थियो ।

नेपाल मेडिसिटीका करिब ३ सय नर्स तथा स्वास्थ्यकर्मीहरुले आज नख्खुदेखि पाटनस्थित् कृष्ण मन्दिरसम्म ‘वाकाथन’मा सहभागी भएका थिए । वाकाथनमा नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोको समेत सहभागिता रहेको थियो । अस्पतालले सप्ताहव्यापी कार्यक्रमहरुको आयोजना गरी नर्सिङ दिवस मनाएको छ ।.



प्रतिक्रिया दिनुहोस्