Logo

मोदीको सम्बोधनमा आइपिएल र सन्दिप, आजै सन्दिपको डेब्यू



वैशाख २९, काठमाण्डौ । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सन्दिप लामिछानेले डेब्यू गरेका छन् । उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेलेका हुन् ।

टस हारेको दिल्लीले अहिले ब्याटिङ गरिरहेको छ ।

सन्दिप आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् । दिल्लीले उनलाई २० लाख भारुमा टिममा भित्र्याएको थियो । तर, लगातार ११ खेल बेञ्चमा रहे ।

११ मध्ये मात्र ३ खेल जितेको दिल्ली अंक तालिका तालिकाको पुछारमा छ र समूह चरणबाटै बाहिरिने सम्भावना बढी छ ।

नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज सन्दिप आइपिएलमा छनौट हुनुलाई खेलमार्फत दुई देशबीचको सम्बन्ध थप मजबुत भएको बताएका थिए ।

काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दनका क्रममा मोदीको लामो सम्बोधनको अन्त्यमा इन्डियन प्रिमियर लिगको विषय उल्लेख गरेका थिए ।

उनले नेपाल पनि आइपिएलमा जोडिएको सन्दर्भ सम्बोधनका क्रममा बताएका थिए ।

दिल्ली आइपिएलको स्कोर टेबुलमा सबैभन्दा पुछारमा छ र अब बाँकी सबै खेल जित्दा पनि दिल्ली कहीँ पुग्दैन।

दिल्ली डेयरडेभिल्समा भारतीय कम्पनी जिएमआरको लगानी छ । जिएमआर नेपालमा जलविद्युत उत्पादनका लागि सक्रिय कम्पनी हो ।

सन्दीप लामिछाने दिल्लीको टिममा अटाएपछि आइपिएलको क्रेज नेपालीबीच थप बढ्न पुगेको छ । नेपाली खेलाडीको म्याच हेर्ने प्रतीक्षामा रहेका दर्शकहरु करिब करिब निराश हुने अवस्थामा पुगेकै बेला मोदीले आज सन्दीप लामिछानेको विषय उठान गरेका थिए ।

दिल्ली आइपिएलको यस श्रृंखलामा सबैभन्दा पुछारमा छ । कूल ६ अंकसहित अन्तिम स्थानमा रहेको दिल्लीले ११ खेल खेलिसकेको छ । ११ खेलमा ३ जित र ८ हारले उसलाई आइपिएलको यस सिजनबाट अनौपचारिक हिसाबले बाहिर र्पुयाइसकेको छ । अब बाँकी खेल प्रतिष्ठाका लागि मात्रै हुने निश्चित छ ।

आइपिएलका यसअघिका कुनै पनि खेलमा सहभागी हुन नपाएकाले सन्दीप लामिछानेका लागि भने अबका कुनै पनि खेल महत्वको हुनेछ । अब दिल्लीले ३ खेलमात्र खेल्नेछ ।

दिल्ली टीममा रहेर मैदानमा आफ्नो खुवी देखाउन नपाउने सन्दीप लामिछाने एक्लै भने होइनन् । यसर्थ, सन्दीपलाई मात्र खेल्न नदिएको भन्न मिल्दैन। उनीबाहेक ५ जना खेलाडी पनि आइपिएलमा ११ खेल सकिँदा दर्शकभन्दा बढी हुन पाएनन् ।

सन्दीपसँगै जयन्त यादव, मन्जोत करला, जुनियर डाला, सायन घोष रगुरुक्रित मन्न सिंहले ११ खेलमा कुनैमा पनि सहभागिता जनाउन पाएनन् । आजको खेलमा भने घोषले पनि खेलेका छन् ।

खेल्न नपाउनेमा लामिछाने र डाला भने दिल्लीले लिएका विदेशी खेलाडी हुन् । बाँकी विदेशी सबै खेलाडीले प्रतियोगितामा भाग लिइसके ।

मोदीको भाषण र सन्दिपको डेब्यु संयोग वा रणनीति जे भए पनि सन्दिपले आज आइपिएलमा डेब्यु गरेकोमा सम्पूर्ण नेपाली खुशी छन् ।



प्रतिक्रिया दिनुहोस्