Logo

ओलीलाई मोदीको धाप : ढुक्क भएर ५ वर्ष सरकार चलाउनुहोस



काठमाडौं, ३० बैशाख । दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विदाई फोनवार्तामा ढुक्क भएर ५ वर्ष सरकार चलाउन आग्रह गर्दै भारत सहकार्य गर्न तयार रहेको बताएका थिए ।

स्रोतका अनुसार मोदीले स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलबाट समकक्षी ओलीसँग फोनवार्ता गरेका थिए । उनले फोनवार्ताको सुरुवातमा नेपाल बसाईमा प्रदान गरेको न्यानो आतिथ्यताप्रति हार्दिक कृतज्ञता प्रकट गरेका थिए । आफ्नो नेपाल भ्रमण अविश्मरणीय र फलदायी भएको ओलीसँगको फोनमा मोदीले बताएका थिए ।

मोदीले ओलीलाई नेपालमा आर्थिक समृद्धिको युगको आरम्भ भएकोले यहाँको विकास र समृद्धिमा भारतको सदैव साथ र सहयोग रहने पनि विश्वास दिलाए । स्रोतका अनुसार मोदी त्यतिमात्रै अडिएनन्, उनले ओलीलाई आगामी ५ वर्षसम्म ढुक्क भएर सरकार चलाउनुहोस् भन्दै आगामी दिनमा पनि आफू सहकार्य गर्न तयार रहेको विश्वास दिलाएका थिए ।

मोदीलाई हिजो विमानस्थलमा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विदाई गरेका थिए । उनले मोदीको दुईदिने नेपाल भ्रमण धैरै हिसाबले सफल, ऐतिहासिक र सम्झनलायक इतिहासको एक महत्वपूर्ण मोड सावित भएको बताएका थिए ।

मन्त्री ज्ञवालीले भ्रमणपछि सदियौँ पुरानो सम्बन्ध अझै सुदृढ रहने र अझ फराकिलो पार्न, सहयोगका नयाँ क्षेत्र पहिचान गर्न तथा विगतका सहमतिलाई प्रभावकारी कार्यान्वयनका बारेमा ठोस प्रगति हुने गरी निर्णय गरिएको जानकारी गराएका थिए ।

उनले नयाँ समझदारीका क्षेत्रहरु रेल्वे, जलमार्ग र कृषिमा साझेदारी तथा विगतका सहमतिमा ठोस प्रगति हुने गरी आगामी सेप्टेम्बरसम्म काम गर्ने समयसीमा निर्धारणको समझदारी भएको पनि उल्लेख गरेका थिए ।

मोदीको भ्रमणले धार्मिक र पर्यटकीय स्थल जनकपुर र मुक्तिनाथको भ्रमण गरेर पर्यटकीय महत्व र जनस्तरको सम्बन्ध मजबुद बनाउन भूमिका खेलेको जनाएका थिए ।

हुन पनि मोदीले आफ्नो यसपटकको नेपाल भ्रमण प्रधानमन्त्रीको रुपमा भन्दापनि प्रधान तिर्थयात्रीको रुपमा रहेको बताएका थिए । उनले यसपटकको भ्रमण जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथ मन्दिरको दर्शन तथा विशेष पूजा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्