Logo

राजपा र फोरम नेतालाई मोदीको सुझाव : ओलीलाई साथ दिनुहोस्



काठमाडौं, ३० बैशाख । दुई दिने नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरु र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

तर, भेटवार्तामा मोदीले दुवै पार्टीका नेताहरुलाई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नगर्न सुझाएको स्रोतको दाबी छ । मोदीले अहिले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिने कुरा नगर्न सुझाव दिएको राजपाका एक नेताले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

नेपालको दुईदिने राजकीय भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर लगायतका अध्यक्ष मण्डलका सदस्यहरुसँगको भेटवार्तामा ओलीलाई नै साथ र समर्थन गर्न आग्रह गरेका थिए ।

भेटवार्ताको क्रममा समसामयिक राजनीति, दुई देशीय हित र सम्बन्ध, मधेशको अवस्था लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ । भेटवार्तामा ठाकुरले भारतीय प्रधानमन्त्री मोदीलाई मधेशको विकास र समृद्धिका लागि विशेष प्याकेजको व्यवस्था गर्न आग्रह गरेको स्रोतले जनाएको छ ।

यता फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँगपनि मोदीले राजपा नेपालका नेताहरुलाई सुझाएझैं ओलीलाई दिएको समर्थन फिर्ता लिने कुरा नगर्न आग्रह गरे । मोदीले ओलीको नेतृत्वमै समृद्धि हाँसिल हुने भन्दै ओलीलाई साथ दिन दुवै पार्टीका नेताहरुलाई मोदीले यस्तो आग्रह गरेका हुन् । 

भारतीय विदेश मन्त्रालयले भेटमा मोदीले प्रतिनिधि र प्रदेश सभा चुनावमा राजपाले पाएको मतका लागि बधाई दिएको जनाएको थियो ।

राजपा नेताहरुले प्रधानमन्त्री मोदीलाई जनकपुर भ्रमण गरिदिएकोमा धन्यावाद व्यक्त गरेका थिए । त्यस्तै मोदीले नेपालमा लोकतन्त्र बलियो पार्नुपर्ने र नेपाल शान्ति स्थिरता रहोस् यो भारतको चाहना रहेको बताएका थिए ।

यसअघि शुक्रबार मोदी भारतबाट सिधै जनकपुर उत्रिएका थिए। त्यहाँ उनले जानकी मन्दिरमा पूजाआजा गरेका थिए। जनकपुर उपमहानगरपालिकाले गरेको नागरिक अभिनन्दन समारोहमा बोल्दै मोदीले ४ वर्षअघि नै जनकपुर आउन चाहे पनि आउन नसकेकोको क्षमा मागेका थिए।

उनले जनकपुर आसपासको विकासका लागि १ अर्ब भारू दिने घोषणा गरेका थिए। जनकपुर भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन्।



प्रतिक्रिया दिनुहोस्