Logo

मुख्यमन्त्रीको अभिव्यक्तिप्रति ओलीको असन्तुष्टी अनावश्यक : लाल



वैशाख ३१, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता बृजेशचन्द्र लालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण विवादमा नपरेको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले मोदीलाई सबै जनताले हार्दिकताका साथ स्वागत गरेको तर विवादित नभएको दाबी गरे ।

प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्ति सत्य भएको भन्दै उनले बचाउ गरे ।

“मुख्यमन्त्रीको कुन चाँही कुरा झुटो हो ? उहाँले भनेको कुरा सत्यताबाट अलिकति पनि टाढा छैन ।” लालले भने ।

नेपालमा राज्यको नेतृत्व गर्नेहरुले कुनै पनि कुटनीतिक मर्यादा नराखेको जिकिर गर्दै लाले राजनीतिक दलका नेताहरुले आफ्नै जनताहरुलाई दलाल भन्ने गरेको आरोप लगाए ।

“आफ्नै जनताले समानता माग्दा विखण्डनकारी भन्दै आएका छन् । आफ्नै जनतालाई विदेशबाट संचालित भन्दै आएका छन् ।” उनले भने ।

असमानता, विभेद र राज्यले सहयोग नगरेको भन्ने कुरा कुटनीतिक मर्यादाअन्तरगत नपर्ने भएकाले मूख्यमन्त्री राउतलाई गलत भन्न नमिल्ने लालको तर्क छ ।

जनतामाथि भइरहेको विभेदका बारेमा चुप लागेर बस्नुपर्छ भन्ने आशयले मुख्यमन्त्रीको अभिव्यक्तिलाई विवादित बनाउन खोजिएको उनको आरोप छ ।

मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री केपी ओलीले असन्तुष्ट देखाउन आवश्यक नरहेको उनले बताए ।

“ति कुरा मुख्यमन्त्रीले भन्न किन बाध्य भए ? यो कुरालाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ ।” उनले भने ।

नेपालमा उग्रराष्ट्रवादलाई आफ्नो राजनीति स्वार्थका निमित्त प्रयोग गर्दै आएको अराोप लगाउँदै भारतको विरोधलाई पनि राजनीतिक स्वार्थमा प्रयोग हुने गरेको दाबी गरे ।

नेपाल र भारतबीचको सम्बन्ध मजबुत गर्न र दुई देशबीचका जनताबीचमा सुमधुर समन्ध स्थापित गराउनका लागि मोदीले महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ ।

नेपालको विकास र समृद्धिका लागि मोदीले खेल्ने भूमिका महत्वपूर्ण भएकाले नेपाल सरकारले त्यसलाई सदुपयोग गर्न सक्नुपर्ने उनको सुझाब छ ।



प्रतिक्रिया दिनुहोस्