Logo

पहाडमा केपी ओली र तराईमा लालबाबु राउतले नाटक गरे : यादव



जेठ १, काठमाण्डौ । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण सफल भएको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता यादवले मोदीको जानकी मन्दिरको दर्शन गर्ने ईच्छा पूरा भएको बताए ।

जनकपुर क्षेत्रका जनताहरु पनि मोदीको भ्रमणले खुशी भएको उनको जिकिर छ । तर प्रधानमन्त्री केपी ओलीका विषयमा भएका नकारात्मक टिप्पणीको यादवले समर्थन गरे ।

“नेपाली जनतालाई भ्रममा पारेर चुनाव जितिसकेपछि लम्पसारवाद देखाएका छन् । हिजो हामीले उचित काम गर्दा राष्ट्रवाद खत्तम भयो भन्ने, अहिले भारतसामु लम्पसारवाद देखाउँदा के भन्ने ?” उनले प्रश्न गरे ।

“केपी ओलीले चुनाव जित्नका लागि नेपाली जनतामाझ अनर्गल प्रचार गरेर भ्रममा पारे । भारत र नरेन्द्र मोदीका बारेमा ओलीले राखेको भ्रम अहिले जनताले बुझे ।” यादवले भने ।

ओलीले राष्ट्रवादको गलत व्याख्या गरेर चुनावका बेला जनतालाई भ्रम छरेको यादवको आरोप छ ।

प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले देशभित्रको समस्या मोदीसमक्ष राखेकोप्रति यादवले असन्तुष्टी व्यक्त गरे । भएका समस्या समाधानका लागि केन्द्र सरकारसँग कुरा राख्नुपर्नेमा भारतका प्रम मोदीसमक्ष रखेको भन्दै यादवले काम गर्न नसक्ने भए मुख्यमन्त्री राउतले राजिनामा दिनुपर्ने बताए ।

संविधान संशोधन गर्न नचाहने केपी ओलीलाई विश्वासको मत दिने तर समस्या राख्न भने नसक्नु संघीय समाजवादी फोरमकै कमजोरी भएको उनको तर्क छ ।

“विदेशी पाहुनाको सामुन्ने गुहार्ने होइन । नेपालका प्रधानमन्त्रीलाई भन्न सक्नुपर्छ । ”
पहाडमा केपी ओली र तराईमा फोरमबाट मुख्य मन्त्री बनेका लालबाबु राउतले नाटक गरेको यादवको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्