Logo

एकता अनिवार्य छ, सम्मानजनक कार्यविभाजन गरौँ : शर्मा



जेठ १, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले एमाले र माओवादीबीचको एकता प्रक्रियामा ढिलाइ भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै शर्माले पहिला नै एकता गर्ने भनिए पनि अहिलेसम्म हुन नसकेको बताए ।

व्यस्तता र आन्तरिक कारणले एकतामा ढिलाई भएको भन्दै गृहकार्य भइरहेको शर्माको तर्क छ ।

पार्टी एकता नै नहुने हो कि भन्ने धमलाको प्रश्नमा शर्माले एकता अनिवार्य भएको बताए ।

तर जति ढिला भयो त्यति विग्रदै जाने भएकाले अब नेताहरुले छिटोभन्दा छिटो निकास दिनुपर्ने बताए ।

एकताका विषयमा अविश्वासको वातावरण बन्न दिन नहुने भन्दै शर्माले आशंका र अविश्वासले ठिक ठाउँमा नपुर्याउने बताए ।

“एकता प्रक्रियाबाट कोही पनि भाग्नु हुँदैन । एकता नगर्नेलाई इतिहासले पनि माफी दिदैन । जनताकोबीचमा गरेको कबुललाई पूरा गर्नुपर्छ । सकिएन भने भविष्य छैन ।” शर्माले भने ।

सम्मानजनक एकता आफूहरुले चाहेको शर्माको भनाई छ । नेताहरुको कार्यविभाजन क्षमताअनुसार हुनुपर्ने उनले बताए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले माओवादीलाई कुनै पनि नकारात्मक प्रभाव नपरेको शर्माले बताए । मोदीको भ्रमणले राष्ट्रको अहित नगरेको उनले बताए ।

अरुण तीनको शिलान्यासमा उर्जामन्त्री वर्षमान पुनलाई उपस्थित गराउनुपर्नेमा त्यसो नगरिनु गल्ती भएको शर्माले बताए ।

के कारणले त्यस कार्यक्रममा पुनको उपस्थिती भएन भन्ने विषयमा पार्टीभित्र कुरा हुने शर्माको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्