नारायण ढुंगाना : उपरदाङगढी, चितवन १ जेठ / चितवनको पुरानो सदरमुकाम उपरदाङगढी पर्यटकीय दृष्टिले अति नै महत्वपूर्ण भएपनि सोचे जति पर्यटक पुग्दैनन् । पूर्वाधार अभाव र प्रचारको कमीले ऐतिहासिक गढी घुम्ने पर्यटक कम भएको हो ।
उपरदाङगढीको होमस्टे नम्बर २ का सञ्चालक गणेश थापा विदाको समयमा आन्तरिक पर्यटक आउने गरेपनि अरु बेला पर्यटकहरु शून्य जस्तै हुने बताउनुहुन्छ ।
‘कुनैकुनै बेला यहाँको तीनवटा होमस्टे भरिन्छ, तर धैरैजसो समयमा खाली नै हुन्छ,’ थापाले भन्नुभयो – ‘यति महत्वको गढी भए पनि सोचे जति पर्यटक भने आएका छैनन् ।’
पर्यटक नआएका कारण यहाँ सञ्चालनमा आएका तीन वटा होमस्टे बन्दसमेत भएका छन् । करीव विसं १८०० तिर पृथ्वीनारायण शाहका नाति बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले अंग्रेजसँग लडाइँ गर्न उपरदाङगढी बनाएका थिए ।
समुद्र सतहदेखि एक हजार २७५ मिटरको उचाइमा रहेको गढी (किल्ला)का भग्नावशेषहरु अझै छन् । तत्कालीन समयमा अड्डा, अदालत, मालपोत तथा विभिन्न सरकारी कार्यालय र सैनिक चौकी रहेको स्थानीयवासीले बताएका छन् ।
गर्मी समयमा पनि जाडोको महसुस हुने यहाँबाट चितवनको सबैभन्दा अग्लो पहाड सिंराइचुली जान सजिलो पर्छ ।
अहिले गढीमा ऐतिहासिक किल्ला, तोप हान्न बनाइएका नौ वटा आकर्षक स्थान, कोतघर र विभिन्न मन्दिरको भग्नावशेष देख्न सकिन्छ । चारैतिर विशाल र ठूला कुँदिएका ढुंगाले बनेको पर्खाल हेर्दैमा आकर्षक देखिन्छ ।
यहाँबाट मनास्लु र अन्नपूर्ण हिमाल, प्राकृतिक दृश्यावलोकन र चितवनको समथर फाँट तथा निकुञ्जलाई राम्ररी नियालेर मनोरञ्जन लिन सकिन्छ ।
पूर्वतर्फ चितवनकै अग्लो पहाड सिंराइृचुली देखिन्छ । सूर्याेदय र सूर्यास्तको दृश्यले मन लोभिन्छ । गढी घुम्न आइपुग्नुभएका राजेन्द्र कार्कीले परिवारसहित आएर दृश्यावलोकन गर्न स्वर्गीय आनन्दको अनुभव लिन सकिने खालको गढी रहेको प्रतिक्रिया दिनुभयो ।
यस्तो महत्वको क्षेत्रको अहिले न संरक्षण गरिएको छ, न त प्रचार प्रसार नै भएको छ । अझ गढीको जग्गा अतिक्रमण हुने चिन्तासमेत बढ्दो छ ।
शनिवार गढी पुगेका आन्तरिक पर्यटक सुजन नेपाल ऐतिहासिक किल्ला मात्रै नभएर प्राकृतिक छटाले भरिपूर्ण उपरदाङगढी सुन्दर पर्यटकीय नगरी हो भन्नुहुन्छ ।
उहाँसँगै ज्ञानप्रसाद उपाध्याय, ध्रुव घिमिरे, दीपक तिवारी, सुवास न्यौपाने, माधव देवकोटा लगायतको एउटा समूहले शनिबार गढी पुगेर मनोरञ्जन लिए ।
यति महत्व र सुन्दर क्षेत्र भएर पनि यहाँ पाँच वर्षअघि जति पर्यटक आउँछन्, अहिले पनि सोही हाराहारीमा मात्र आउने गरेका छन् । सडक बनेकाले अहिले गाडी र मोटरसाइकलबाट यहाँ आउन सजिलो भएको छ ।
विगतमा शक्तिखोरसम्म सवारी यात्रापछि २÷३ घण्टा हिँडेरै गढी घुम्न पर्यटक आउँथे । अहिले शक्तिखोरबाट पौने घण्टामै गढी पुगिन्छ । तर पनि विगत भन्दा अहिले पर्यटक आशातित रुपमा बढ्न सकेको छैन । अहिले गढीमा दुई वटा होमस्टे र एउटा गढी हिल कटेज सञ्चालनमा छ । यहाँ एकदिनमा ५० जनासम्म पर्यटक राख्न मिल्छ ।
तेजबहादुर गुरुङले सञ्चालन गर्नुृभएको होमस्टे नम्बर १ र गणेश थापाले सञ्चालन गर्नुभएको होमस्टे नम्बर २ मा पाँच÷पाँच श्यया छ । बीस जना पर्यटक यी दुईमा बस्न मिल्छ ।
रुपेन्द्र कर्माचार्यको गढी हिल कटेजमा ३० जना सुत्न मिल्ने ठाउँ रहेको कटेज रेखदेख गर्दै आउनुभएका गोठे गुरुङ बताउनुहुन्छ । विदेशी पर्यटकहरु भने यहाँ न्यून मात्रामा मात्रै पुग्ने गरेका छन् ।
‘शुक्रबार र शनिवार चाहीँ आन्तरिक पर्यटक राम्रै आउँछन्, अरु बेला चाहीँ फाट्टफुट्ट हो,’ गुरुङले भन्नुभयो । बास बस्ने राम्रो व्यवस्था भएपनि पर्यटक भित्र्याउनतर्फ ध्यान नपुगेको देखिन्छ ।