Logo

एमाले-माओवादी एकता भोलि, केन्द्रिय सदस्य ४ सय ४१ हुने



काठमाडौं, १ जेठ । सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भोलि एकता हुने भएको छ । एमालेको स्थायी समिति बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषय पास गरेको छ।

भोली नै एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता हुने  छ।स्वर्गीय नेता मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर भोलि जेठ ३ गते पार्टी एकता हुने भएको हो ।

बिहिबार हुने केन्द्रीय समिति बैठकको पूर्व तयारी र पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डाबारे अध्यक्षहरुको ब्रफिङ सुन्न भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार एमाले स्थायी समिति बैठक बसेको थियो। बैठकले पार्टी एकताको विषयलाई पास गरेको हो।

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुने भएको छ । ओलीले एकीकृत पार्टीमा ४ सय ४१ सदस्यीय केन्द्रीय समिति र ४३ सदस्यीय स्थायी समिति बनाउने समझदारी भएको जानकारी गराए।

एकीकृत पार्टीको स्थायी समितिमा २५ जना एमाले र १८ जना माओवादीबाट सदस्य रहने सहमति भएको छ। दुई अध्यक्षले अहिले पोलिटब्यूरो नबनाउने निर्णयसमेत गरेका थिए।

 



प्रतिक्रिया दिनुहोस्