काठमाडौँ, २२ वैशाख (रासस) / पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सर्वहारा वर्गको क्षमता, भूमिका उजागर गर्न सक्ने महान् विद्वान्का रुपमा कार्ल माक्र्सलाई बुझ्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) द्वारा कार्ल माक्र्सको जन्म द्विशताब्दीका सन्दर्भमा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले माक्र्स समाजको गहिरो अध्ययन र विश्लेषण गर्ने विश्वको पहिलो कम्युनिष्ट नेता हुनुहुन्थ्यो भन्नुभयो ।
अरु दार्शनिकले संसारका कुरामात्र गरेको भए पनि माक्र्सले जनतालाई सामाजिक न्याय उपलब्ध गराएर संसारलाई बदल्ने कुरा गरेको बताउँदै नेता नेपालले समाजमा विद्यमान गरिबी न्यूनीकरण, देशभक्ति, महिला हिंसा, छुवाछूतको अन्त्य गरी उक्त वादलाई जनतासँग एकाकार हुनेगरी कार्यान्वयन गर्न सकेमा मात्र लोकतन्त्र बलियो हुने विचार व्यक्त गर्नुभयो ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनालले समाजवाद, दर्शन, अर्थशास्त्रलगायत क्षेत्रमा माक्र्सको उल्लेखनीय योगदान रहेको बताउँदै बुर्जुवा प्रजातन्त्र भएका देशमा प्रजातन्त्रलाई उपयोग गरी शान्तिपूर्ण तरिकाले परिवर्तन गर्न सकिने शिक्षा उक्त वादमा रहेको बताउनुभयो ।
उहाँले लोकतन्त्रको समुन्नति, मुलुकको स्वतन्त्रताको सुदृढीकरण, गरिबी र निरक्षरताको अन्त्य, सामाजिक आर्थिक रुपान्तरण, जातीय राष्ट्रिय संस्कृतिको विकास र स्वतन्त्र सन्तुलित विदेश नीति अहिलेको महत्वपूर्ण कार्यभार रहेको हुँदा त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
उपाध्यक्ष वामदेव गौतमले जनताको बहुदलीय जनवादमा माक्र्सको भावना रहेको बताउँदै अबको क्रान्ति र समाजवाद पूरा गर्न ‘जबज’को खाँचो रहेको बताउनुभयो ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सन् १८१८ मा जन्मेका माक्र्सले करीब ६५ वर्षको जीवनअवधिमा विश्व मानवता र सुन्दर पृथ्वी निर्माणका लागि ठूलो योगदान गरेको चर्चा गर्दै अल्बर्ट आइन्सटाइन, पाब्लो निरुदा, नेल्सन मण्डेला, जवाहरलाल नेहरु र विश्वेश्वरप्रसाद कोइरालाजस्ता गैरकम्युनिष्टको जीवनमा समेत सकारात्मक प्रभाव पारेको बताउनुभयो ।