Logo

नेतृत्व आलोपालो, आजै ४ बजे राष्ट्रियसभा गृहमा एकता घोषणा : ज्ञवाली



जेठ ३, काठमाण्डौ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले बिहीबार पार्टी एकताका लागि कार्यसूची तय गरेका छन् ।

लामो समयको कसरतपछि छलफल गर्न बाँकी रहेका विषयहरु टुंग्याएर बिहीबार पार्टी एकता गर्न लागिएको हो ।

बिहीबार मदन भण्डारी स्मृति दिवस पारेर पार्टी एकताको घोषणा गर्ने र बिहीबार नै नयाँ एकिकृत पार्टी निर्वाचन आयोगमा दर्ता समेत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

पार्टी एकता प्रक्रिया स्थगित नै भयो भन्ने सम्मका चर्चा चलिरहेका बेला एकाएक पार्टी एकता घोषणाको तयारीले राजनीतिक माहोल तरङ्गित बनेको छ ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले दुई पार्टीबीचको एकताका लागि ओली र प्रचण्डल आलोपालो बैठकको अध्यक्ष गर्ने सहमति भएको बताए ।

महाधिवेशनपछि को अध्यक्ष बन्ने भन्ने कुरामा अहिले कुनै सहमति नभएको उनले बताए ।

“महाधिवेशनपछि को अध्यक्ष बन्ने चर्चा अहिले नगर्ने सहमति भएको छ । महाधिवेशनअघि केके गर्ने भन्ने कुरामा सहमति भएको छ ।” उनले भने ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले सिद्धान्तलाई छलफलको विषय बनाएर महाधिवेशनले टुङ्गो लगाउने ज्ञवालीको भनाई छ । अहिलेका लागि भने माक्र्सवाद र लेलिनवादलाई मार्गदर्शकसिद्धान्त बनाउने सहमति भएको उनले जानकारी दिए ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुने भएको छ ।

जसमा एमालेको तर्फबाट २४१ र माओवादीबाट २०० जना हुनेछन् । माओवादीले ५०–५० को माग गरेपछि विवाद पनि भएको थियो । तर, नयाँ सहमतिअनुसार केन्द्रीय कमिटीमा माओवादीले ४५ प्रतिशत पाएको छ ।

पोलिटब्यूरो भने तत्काल नबन्ने भएको छ । स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति जुटेको छ । एमालेबाट २५ जना हुनेछन् भने माओवादीबाट १८ जना रहने ज्ञवालीले जानकारी दिए ।

आज दिउँसो ४ बजे राष्ट्रियसभा गृहमा एकता घोषणा गरिने ज्ञवालीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्