Logo

एकता संयोजन समितिको बैठक जारी



काठमाडौं , ३ जेठ । एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई अन्तिम रुपम दिन पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले पार्टी एकताको सहमतिलाई औपचारिक रुपमा अनुमोदन गर्नेछ।

एकता संयोजन समितिले एकताको सहमतिलाई औपचारिक रुपमा अनुमोदन गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै दल औपचारिक रुपमा विघटन हुनेछन्। दुई दलबीच एकीकरणपछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने सहमति भइसकेको छ।

एकता संयोजन समितिको बैठकपछि दुवै दलको आ–आफ्नै दलको बैठक बस्नेछ। त्यसपछि दुई दलको संयुक्त बैठक बस्ने तय भएको छ। आजै दुई दलबीच एकताको औपचारिक घोषणा गरिने छ र आजै निर्वाचन आयोगमा नयाँ दल दर्ता गरिने छ।

दुई दलबीच पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद लेलिनवाद रहने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्साइसौं शताब्दीको जनवादलाई विधिवत रुपमा बहसमा लैजाने विषयमा सहमति भइसकेको छ।

यसैगरी एकीकृत पार्टीको स्थायी समिति ४३ सदस्यीय हुने सहमति भइसकेको छ। जसमा एमालेकातर्फबाट २५ र माओवादी केन्द्रकातर्फबाट १८ जना रहने छन्। यसैगरी ४४१ सदस्यीय रहने केन्द्रीय समितिमा एमालेबाट २४१ र माओवादी केन्द्रबाट २ सय रहने र पार्टीको चुनाव चिन्ह भने सूर्य नै रहने सहमति भइसकेको छ।



प्रतिक्रिया दिनुहोस्