Logo

गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल मेडिसिटीबीच सम्झौता



काठमाडौं, ३ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र उनीहरुका परिवारका सदस्यहरुले नेपाल मेडिसिटी अस्पतालमा उपचार सहुलियत पाउने भएका छन् ।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो र संघका अध्यक्ष भवन भट्टको उपस्थितिमा दुवै संस्थाका कार्यकारी अधिकृतहरु नेपाल मेडिसिटीका सुधाकर जयराम र संघका डा. हेमन्त कुमार दवाडीले आज एक सम्झौतामा हस्ताक्षर गरेका छन् ।

स्वस्थ्य नागरिक बनाउन आफूले नेपाल मेडिसिटी अस्पताल स्थापना गरेको बताउनु हुदै नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. महतोले रोगी मात्र होइन स्वस्थ्य नागरिक पनि वर्षमा एक पटक आफ्नो स्वास्थ्य परीक्षण गर्न वेलनेशमा आउनुपर्ने बताए ।

त्यस्तै गैर-आवासीय नेपाली संघका अध्यक्ष भट्टले नेपालीहरुलाई उपचारमा थप सहजता प्रदान गर्न आफूहरुले मेडिकल सुविधा सहितको हेलिकप्टर सेवा आफूहरुले शुरु गर्न लागेको र त्यसका लागि पनि नेपाल मेडिसिटीसंग सहकार्य गर्ने स्पष्ट पारे ।

कार्यक्रममा संघकी उपाध्यक्ष सपिला राजभण्डारीले संसारभर छरिएर रहेका नेपाली र उनीहरुको परिवारका सदस्यहरुले आफ्नो उपचारका लागि नेपालमै उत्कृष्ट गन्तब्य प्राप्त गरेको भन्दै खुशी व्यक्त गरिन् ।

त्यस्तै कार्यक्रममा नेपाल मेडिसिटीका कार्यकारी अधिकृत सुधाकर जयरामले नेपाल मेडिसिटी अस्पताल स्थापना गर्नुको उद्देश्य तथा हाल सम्मका यसका उपलब्धीका बारेमा चर्चा गरेका थिए ।

नेपाल मेडिसिटी अस्पताल प्रति दिनानुदिन नेपालीहरुको विश्वास बढ्दै गएको र उपचारका लागि विदेश जाने योजना बनाएकाहरु पनि एकपटक मेडिसिटीमै स्वास्थ्य परीक्षण गर्न आउने गरेको अस्पताल महाप्रबन्धक विजय रिमालले बताए ।

विशेषगरी केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणताका नेपाल मेडिसिटीले मुक्तिनाथमा सुविधासम्पन्न आईसियु, जनकपुर र काठमाडौमा “मेडिकल ब्याकअप” दिएको पनि महाप्रबन्धक रिमालले चर्चा गरे ।

एनआरएनए र उनीहरुको परिवारका सदस्यहरुले नेपाल मेडिसिटी अस्पतालमा उपचारमा छुटसहित सुविधायुक्त उपचार सेवा प्राप्त गर्नेछन् । यसका लागि एनआरएनएको परिचयपत्र देखाउनुपर्ने र परिवारका सदस्यहरुको हकमा नाता खुल्ने कागजात पेश गर्दा हुने सम्झौता उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्