Logo

मःमः बेचेर सन्देश रिजालले मासिक तीस हजार बचत गर्छन्



झापा, ४ जेठ । भद्रपुर नगरपालिका– ६ का सन्देश रिजालले कनकाई क्याम्पस विर्तामोडमा स्नातक तह पढ्दापढ्दै मःमः बेच्न थाल्नुभएको हो । रिजालले दुई वर्षदेखि मःमः यहाँका विभिन्न बजारमा बिक्री गर्दैआउनुभएको छ । मःमः व्यवसाय शुरु गर्नुभएका रिजाल अहिले पनि कनकाई क्याम्पसमा स्नातकोत्तर तहको व्यवस्थापन संकायमा अध्ययनरत हुनुहुन्छ ।

पढ्दा पढ्दै कोरिया जान दुई पटकसम्म इपिएस परीक्षा दिनुभएका उहाँ दुबैपटक अनुत्तीर्ण हुनुभयो । “दुईपटक नै एक नम्बर नपुगेर कोरिया जान असफल भए, त्यही परीक्षा सफलताको सुत्रधार बन्यो,” रिजालले भन्नुभयो ।

दुई पटकको असफलतापछि उहाँले विर्तामोडमा मःमः फर्म खोल्नुभयो । सो फर्मले उहाँलाई स्वरोजगार मात्र बनाएन अरुलाई समेत रोजगारी प्रदान गरेको छ । उहाँको मःम फर्म अहिले झापाकै लोकप्रिय बनेको छ ।

विर्तामोडस्थित कनकाई क्याम्पसको नजिकै उहाँले ‘उरी मःमः फर्म’ खोल्नुभएको छ । उहाँले कोरियन भाषाबाटै फर्मको नाम उरी राख्नुभएको हो । ‘उरी’ को नेपाली अर्थ हुन्छ हाम्रो । पटक–पटकको असफलतापछि रिजालले कोरियन भाषामै मःमः फर्मको नाम राख्नुभयो ।

उक्त फर्मबाट उहाँको अहिलेको कमाइ कोरियाको भन्दा कम छैन । विसं २०७२ साउन मा फर्म दर्ता गरेर कारोबार शुरु गर्नुभएका रिजालले अहिले १२ जनालाई रोजगार दिनुभएको छ । “मासिक रु ३० हजार बचत हुन्छ,” उहाँले भन्नुभयो ।

विर्तामोडसहित झापाका विभिन्न बजारमा उहाँले मःमः बनाएर बिक्री गर्नुहुन्छ । फास्टफुडका लागि लोकप्रिय बनेको मःमः अहिले रिजालको आम्दानीको मुख्य स्रोत हो । आम्दानी गरेको देखेपछि हिजोआज रिजाललाई उहाँका साथीहरुले सो व्यवसायबारे सिकाउन आग्रह गर्दैआएका छन् । “साथीहरुलाई बेलाबेलामा ऋण दिने गरेको छु, फरक व्यवसाय गर्न सके आर्थिक उपार्जनका लागि विदेशिन नपर्ने रहेछ,” उहाँले भन्नुभयो ।

कोरिया जान तयारी गर्ने क्रममा काठमाडौं घुम्दै गर्दा मःमः बिक्री गरेको देखेपछि रिजाल सो व्यवसायप्रति आकर्षित हुनुभएको हो । त्यसपछि उहाँले झापा फर्केर उक्त व्यवसाय शुरु गर्नुभएको हो । “आफू त स्वरोजगार बनेँ, अरुलाई पनि आय–आर्जनको बाटोमा लगाउन पाउँदा गर्व लाग्छ,” उहाँले भन्नुभयो ।

रिजालले सञ्चालन गरेको उरी मःमः फर्ममा सात युवा र पाँच युवतीले रोजगार पाएका छन् । उरी मःम फर्ममा तयार पारिएको मःमः सुरुङगाको सेल्फी डाँडा, जामुनखाडी, अर्जुनधाराको फन वल्र्ड, सालवारी लगायतका पर्यटकीयस्थलमा तथा जिल्लाका विभिन्न ठाउँका विद्यालयमा बिक्रीका लागि पठाउने गर्नुहुन्छ ।

“दैनिक करिब एक हजार प्लेट मःमः तयार हुन्छ,” उहाँले भन्नुभयो । रिजालले प्रतिप्लेट काँचो मःमः रु २८ बिक्री गर्नुहुन्छ । पूर्वमा धुलाबारी, दक्षिणमा भद्रपुर, पश्चिममा सुरुङ्गा तथा उत्तरमा शनिश्चरेका अधिकांश होटलमा उहाँको फर्ममा तयार भएको मःमः बिक्री हुन्छ । दैनिक ५० देखि ७५ किलोसम्म पिठो प्रयोग गरिन्छ ।

रु तीन लाखबाट उक्त व्यवसाय शुरु गर्नुभएका रिजालले अहिले मनग्य आम्दानी गरेको देखेपछि सो व्यवसायप्रति आकर्षण बढेको छ । व्यवसाय फष्टाउँदै गएपछि उहाँले पिठो मुछ्नेदेखि किमा तयार पार्ने मेसिन समेत राख्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot