Logo

नेपालमा लगानी भित्र्याउन जापानमा भव्य कार्यक्रम सम्पन्न, कसले के भने ?



जापान, ५ जेठ । नेपालमा जापानी लगानी र पर्यटक भित्र्यउने उद्देश्यले हालै जापानको औधोगिक नगरी नागोयामा गैरआवासीय नेपाली संघ एसिया प्यासीफिकको आयोजनामा एक कार्यक्रम आयोजना सम्पन्न भएको छ ।

विभिन्न क्षेत्रमा ख्याँति कमाएका जापानी व्यवसायीहरुको उल्लेखनिय सहभागिता रहेको उक्त कार्यक्रम नेपाली र जापानी राष्ट्रिय गानबाट शुरु भएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले नेपाल अब राजनीति स्थायित्व भएको र लगानीको वातावरण पूर्ण भएको कुरा अवगत गराएकी थिईन् ।

राजदुत राणाले बुद्ध जन्मिएको देश नेपाल र जापानको सम्बन्ध पुरानो रहेको र नेपाली जनता र जापानी जनता मिलेर यसलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिईन।

आइची प्रिफेक्चर ओबु शहरका मेयर ओकामुरा हिदेतोले अस्ट्रेलिया र फिलिपिनमा आफूहरुको भगिनी शहर रहेको र अब नेपालको शहरको बारेमामा पनि सकारात्मक रहेको स्पष्ट पारे ।

कार्यक्रममा ओबु जापान चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिका अध्यक्ष किमुरा, रोटरी जापानका पूर्व गभर्नर युसुके कोन्दो, एनआरएनएका युवा संयोजक सुदन थापा, एसिया प्यासिफिकका संयोजक किरण बिक्रम थापा, आइसीसी सदस्यद्वय ओम गुरुङ र टंक गैरेले मन्तब्य राखेका थिए ।

एनआरएनए केन्द्रिय अध्यक्ष भबन भट्टको सान्दर्भिक भिडिओ संदेश पावरपोइन्टमा प्रेजेन्ट गरिएको थियो ।

प्रस्तुति दिने क्रमममा नेपालको बारेमा संक्षिप्तमा डा सुदिप अधिकारी, नेपालमा जापानको रोटरीले गरेको सहयोगको बारेमा डा कोशो योशिकावा, नेपालको पर्यटन बारेमा नागोया शहरका पूर्व उपमेयर सुजुकी कत्सुहिसा अनि नेपालमा लगानी र सम्भावनाका बारेमा एनआरएनए एसिया प्यासिफिक उपसंयोजक तथा कार्यक्रमका परिकल्पनाकार पारसमणि पोखरेलले प्रकाश पारेका थिए ।

नेपाल गएका जापानी पर्यटक र नेपालमा ब्यबसाय आरम्भ गरेका जापानीको छोटो अनुभवले कार्यक्रम अझ रोमान्चित भएको आयोजकको दाबी छ । मन थापाको सारंगी प्रस्तुति अनि समिर लामा र शान्ति लामाको नृत्य जापानीहरुको माझ आकर्षक रहेको पनि कार्यक्रमका परिकल्पनाकार पोखरेलले जनाए ।

स्वागत मन्तब्य पारसमणि पोखरेल अनि धन्यबाद ज्ञापन ओम गुरुङले दिएको उक्त कार्यक्रम रोटरी क्लब जापानका फुकुदा तेचुओ फुकुदाले संचालन गरेका थिए ।

कार्यक्रम नेपाली राजदुतवास टोकियो, नेपाल पर्यटन बोर्ड र जापानी युवा उद्धमीको सहयोगमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्