जेठ ७, काठमाण्डौ । केही दिनअघि मात्रै दुई दल मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद चुलिएको छ ।
तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल र उपाध्यक्ष भिम रावलको असन्तुष्टीले नेकपाभित्र विवाद बढेको हो ।
एकतापछिको बरियातामा एमालेमा हुँदा आफूभन्दा तल रहेका माधवकुमार नेपाललाई अहिले अगाडि लगिएको खनाल रुष्ट बनेका छन् । तत्कालिन एमालेको निर्वाचित महासचिव आफूँ हुँदाहुँदै उपमहासचिव विष्णु पौडेललाई सचिवालयको महासचिव बनाउनु पोखरेलका लागि भारी परेको छ ।
यता रावल भने एमालेका सक्रिय र प्रभावशाली उपाध्यक्ष थिए । अहिले उनको भूमिका पनि गौण बनेको छ ।
सरकारका रक्षामन्त्रीसमेत रहेका पोखरेलले खुलेर असन्तुष्टी व्यक्त गर्न नगरे पनि खनाल र रावलको असन्तुष्टी सार्वजनिक भइसकेको छ ।
खनाल र रावलले त पार्टीभित्र आफ्नो कुरा राखिसकेका छन् । तत्काल पार्टीले उनीहरुको असन्तुष्टी सम्बोधन गर्ने सम्भावन पनि देखिएको छैन ।
यसले नवगठित पार्टीभित्र गुटगत राजनीतिको विजारोपण गरेको छ । खनालले त अबका दिनमा आफूले अध्यक्षमध्येका एक प्रचण्डलाई सहयोग गर्ने बताइसकेका छन् । आफूलाई पार्टी एकताबारेसमेत जानकारी नदिइएको भन्दै केपी ओली र माधवकुमार नेपालसँग रिसाएका खनालले आगामी महाधिवेशनमा प्रचण्डलाई पार्टी अध्यक्ष बनाउनमा भूमिका खेल्ने संकेत दिइसकेका छन् ।
खनालेको यो संकेतले अध्यक्ष बन्नका लागि आफ्नो गुट नै ओली क्याम्पमा लगेर बिसाएका नेपालका लागि भारी पर्ने देखिन्छ ।
खनालसँगै रावल र पोखरेललगायत अन्य असन्तुष्ट पक्षले मोर्चाबन्दी गरेको खण्डमा एकता महाधिवेशनमा नेपाल र ओलीभन्दा असन्तुष्ट पक्ष बलियो बन्न सक्ने देखिन्छ ।
खनाल र रावलले आफ्नो असन्तुष्टी व्यक्त गरेपछि अध्यक्षद्धय ओली र प्रचण्ड समस्यामा परेका छन् ।
यही विवादका कारण सोमबार विहानै अध्यक्ष प्रचण्डको दौडधुप बढेको छ । पार्टीभित्रको समस्या समाधानका लागि बेलाबेलामा विभिन्न ठूला उद्योगिको सहयोग लिने गरेका प्रचण्ड सोमबार विहान मिडिया तथा हवाइ उद्यमी क्याप्टेन रामेश्वर थापाको घर पुगेका थिए ।
अन्नपुर्ण पोष्टका अध्यक्ष समेत रहेका थापा प्रधानमन्त्री केपी ओलीका निकटस्थ व्यवसायी भनेर चिनिए पनि प्रचण्डसँग पनि राम्रो सम्बन्ध रहेको छ ।
खनालले असन्तुष्टीसँगै प्रचण्डलाई सहयोग गर्ने धारणा सार्वजनिक गरेपछि तत्कालका प्रचण्डलाई फाइदा नै देखिएको छ । तर एकता भएको चर्चा सेलाउन नपाउँदै विवाद र मोर्चाबन्दी देखिएपछि प्रचण्ड र ओली दुवै तनावमा पर्नु स्वभाविक हो ।
दुई बाम एकीकरण भएको व्यवसायीहरुको घरमा लञ्च र डिनर गर्ने गरेको भन्दै प्रचण्ड र ओलीको कार्यकर्ता र सञ्चार क्षेत्रमा चर्को आलोचना भइरहेका बेला प्रचण्ड फेरी अर्का व्यवसायी थापाको घरमा एक बिहानै पुग्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
प्रचण्ड ओलीलाई बालुवारमा सोमबार बिहान भेटेर सीधै थापाको घर गएका थिए ।
प्रचण्ड र ओली दुवैले राजनीतिक संकट परेको बेलामा थापालाई मध्यस्थतामा राखेर काम गर्दै आएका छन् ।
दुई ठूला दल एक हुँदा तल्लो तहका कार्यकर्ता मिलाउन समस्या पर्ने आँकलन कतिपयले गरेका थिए । तर अहिले माथिल्लो तहमा नै असन्तुष्टी छताछुल्ल भएपछि नेकपाको आगामी भविष्यप्रति प्रश्न उठेको छ ।
कतिपयले त खनालको नेतृत्वमा नेकपा फुट्नेसम्मको आँकलन गरेका छन् । तर अहिले नै पार्टी फुट्ने आँकलन गर्नु हतार हुन सक्छ । तर विवाद भने तत्काल साम्य हुन सकेन भने पार्टीभित्रको गुटगत राजनीतिक मौलाउँदै जाने निश्चित टगत राजनीतिक मौलाउँदै जाने निश्चित छ ।