Logo

आजदेखि त्रिभुवन विमानस्थल २१ घण्टा खुल्ला (फोटोफिचर)



काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि त्रिभुवन विमानस्थल २१ घण्टा खुल्ला गरेको छ । सोमबार पर्यटनमन्त्री रविन्द्र अधिकारीले एक कार्यक्रमको अयोजना गरी २१ घण्टे सेवाको उद्घाटन गरेका हुन् ।

त्रिभुवन विमानस्थलमा एअर ट्राफिक जान बढ्दै गएपछि सरकारले करिब २ महिनाअघि विमानस्थलको अपरेशन १८ घण्टाबाट बढाएर २१ घण्टा पुराउने निर्णय गरेको थियो ।

करिब २ महिना यसका लागि तयारी गरेपछि सोमबार पर्यटनमन्त्री रविन्द्र अधिकारीले यसको उद्घाटन गरेका हुन् । अब त्रिभुवन विमानस्थल बिहान ६ बजेदेखि अर्को दिनको बिहान ३ बजेसम्म नियमित सञ्चालनमा आउनेछ ।

विमानस्थलको सञ्चालन अवधि १८ घण्टाबाट बढाएर २१ घण्टा पुराएलगत्तै अब एअर ट्राफिक जाममा कमी आउने मन्त्री अधिकारीले दाबी गरेका छन् । अहिले बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म र राती ८ बजेदेखि १२ सम्म एअर ट्राफिक जामको अत्याधिक समस्या रहेको छ । अब एअरपोर्ट सञ्चालनको समय बढाएसँगै ट्राफिक जाममा कमी आउने मन्त्रीले दाबी गरेका छन् ।

विमानस्थल सञ्चालनको समय बढाएसँगै अब आन्तरिक उडानको समय पनि फेरबदल हुने मन्त्री अधिकारीले बताएका छन् । अहिले दिउँसोमात्रै सञ्चालनमा रहेको तर साँझ वा रातीको समयमा पनि सञ्चालन गर्न सकिने भैरहवा, विराटनगर लगायतका स्थानमा अब साँझ र राती पनि उडान हुने मन्त्री अधिकारीले बताएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्