काठमाडौं, ७ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् सांसद राजेन्द्र महतोले सरकारले आज प्रस्तुत गरेको आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रमप्रति आफूहरुको कुनै समर्थन नरहेको स्पष्ट पारेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा ÷प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत गरेपछि संसद भवन परिसरमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भने,‘संविधान संशोधनप्रति यो नीति तथा कार्यक्रममा एक शब्द पनि प्रयोग छैन, हाम्रो समर्थन छैन, हाम्रो विरोध छ ।’
त्यस्तै संघीय समाजवादी फोरम नेपालका नेता हरिनारायण रौनियारले पनि नीति तथा कार्यक्रमको विरोध गरे । उनले भने,‘हाम्रो मुल एजेण्डा संविधान संशोधन, त्यो विषय नै नीति तथा कार्यक्रममा परेको छैन्।’