Logo

गोरेले नेताहरुको नाम डाम्दै, सुन तस्करीमा ‘ठूलै माछा’को संलग्नता



जेठ, ८, काठमाण्डौ । सुन तस्कर र सनम शाक्य हत्याकाण्डका आरोपी चुडामणि उप्रेति गोरेले सुन तस्करमा आफू भरिया मात्रै भएको दाबी गरेका छन् ।
आज विहान काठमाण्डौबाट पक्राउ परेका गोरेले विदेशबाट अवैध रुपमा ल्याइएको सुन आफूले रिसिभ मात्रै गर्ने गरेको बताएको सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिका एक सदस्यले बताए ।

मुख्य आरोपी नभएकाले नै गोरे थप जोखिमबाट जोगिनका लागि काठमाण्डौ आएको कतिपयले बताएका छन् । आफू असुरक्षित भएको महसुस गरेपछि उनी आत्मसमर्पण गर्ने उद्देश्यले काठमाण्डौ आएको बताइएको छ ।
सुन तस्करमा संलग्न ठूला माछाहरुबाट नै असुरक्षित भएपछि उनले मानव अधिकार आयोगमा जीवन रक्षाका लागि निवेदन दिने तयारी गरेकोसमेत पाइएको छ ।

स्रोतले दिएको जानकारी अनुसार सुन तस्करमा राजनीतिक दलका नेताहरुसमेत जोडिएका छन् ।
गोरेले दिएको प्रारम्भिक बयानमा दलका नेताहरुको नाम लिएको सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिका सदस्यहरुले खुलासा गरेका हुन् ।

“सुन तस्करीमा धेरै ठूलाको संलग्नता छ, मैले त निर्देशन मात्रै मानेको हुँ ।” गोरेलाई उदृत गर्दै ति सदस्यले भने ।
गोरे यसअघि पनि गोरे प्रमुख राजनीतिक दलका नेताहरुसँग निकट सम्बन्धमा रहेको सार्वजनिक भएको थियो । यही संकेत पाएर नै गृहमन्त्री रामबहादुर थापाले लहरो तान्दा पहरो थर्किए पनि कसैलाई छुट नदिने बताएका थिए ।

सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिका संयोजक ईश्वरीराज पौडेलले भने पक्राउपछि गोरेले सुन तस्कर काण्डबारे अन्य विवरण जानकारी दिएको बताए । तर गोरेले कसकसको नाम लिए भन्ने खुलाएनन् ।

“गोरेसँग सोधपुछ गर्ने क्रममा अन्य सुचनाहरु पनि प्राप्त भएका छन् । अहिलेसम्म पक्राउ गरिएकाबाहेक अरु व्यक्तिका बारेमा पनि अब गहन अनुसन्धान गर्छौँ ।” पौडेलले भने । “अन्य तथ्य र प्रमाणहरु पनि प्राप्त भएको छ । ति विषयमा पनि गहिराइका साथ अनुसन्धान गर्छौँ ।”

पूर्व गृहमन्त्रीहरु, प्रमुख दलका शीर्ष नेताहरु र सरकारी उच्च कर्मचारीहरुसमेत सुन तस्करमा संलग्न रहेको तथ्यहरु यसअघि नै सार्वजनिक भएको थियो ।

अब बयानका क्रममा गोरेले कसकसको नाम खुलासा गर्छन्, र कोको पक्राउ पर्छन् त्यो हेर्न बाँकी नै छ ।



प्रतिक्रिया दिनुहोस्