Logo

नेपाल फर्किएर सन्दिपले भने-आइपिएल यात्रा अविस्मरणीय



जेठ ८, काठमाण्डौ । युवा क्रिकेटर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आइपिएल खेलेर आज नेपाल फर्किएका छन्

लामिछानेलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । फर्किएका सन्दीपलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का लगायतले स्वागत गरेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले आईपीएल नेपाललाई चिनाउने मौका भएको भन्दै त्यसलाई सदुपयोग गर्न सक्दो प्रयास गरेको बताए । उनले भने, ‘सिक्ने अवसर थियो । त्यसलाई सदपुयोग गरेँ भन्ने लाग्छ ।’

उनले अर्को वर्ष आफू नेपाली खेलाडीहरुलाई पनि आईपीएलमा हेर्ने इच्छा रहेको बताए । उनले आईपीएल आफ्नो अविश्मरणीय यात्रा भएको बताएका छन् ।

उनी जेट एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सन्दीपले आइपीएल खलेर विश्वमा नेपालीलाई चिनाउन पाएकोमा खुशी व्यक्त गरे।

दिल्ली डेयर डेभिल्सबाट यस सिजनको आइपीएल खेलेका सन्दिपले ३ खेलमा कूल ५ विकेट लिएका थिए। आइपीएल खेल्न पाएर आफ्नो बलिङमा थप सुधारको मौकासमेत हासिल भएको उनले बताए।

सुरुको ११ खेलसम्म बेन्चमा बसेर दर्शकमात्र बनेका सन्दीपले १२ औँ खेलमा रोएल च्यालेन्जर्स बैंगलोर विरुद्ध पहिलोपटक खेल्ने अवसर पाए। उनले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट लिए।

महेन्द्र सिंह धोनीको चेन्नाई विरुद्ध दोस्रो खेल खेलेका सन्दीपले ४ ओभरमा २१ रन दिएर सुरश रैनाको विकेट लिएका थिए।

लिग चरणको अन्तिम खेलमा पनि मौका पाएका सन्दीपले मुम्बई विरुद्ध ३ विकेट लिए। सूर्य कुमार यादव, किरण पोलार्ड र क्रुनल पाण्ड्याको विकेट लिएका सन्दीपले ४ ओभरमा ३६ रन खर्चे।

समग्रमा १२ ओभर बलिङ गरेका सन्दीपले ८२ रन खर्चेर ५ विकेट लिएका हुन्। ११औँ संस्करणको आइपीएलका लागि दिल्लीले सन्दीपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो।



प्रतिक्रिया दिनुहोस्