Logo

नेपाल र जापानका प्रधानमन्त्रीको भ्रमण गराउन भवन भट्टको कसरत



काठमाडौं, ८ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट मुलुकको समृद्धिको लागि नयाँ भीजनसहित अहोरात्र खटिरहेका छन् । नेपालको समृद्धि कसरी गर्न सकिन्छ भनेर उनी यतिवेला देश तथा विदेश दौडाहमा छन् । जहाँ छन्–उनी देशकै विकास र समृद्धिको बारेमा बढि साक्षात्कार गर्छन् ।

उनको भेटघाटले पनि के देखाउँछ भने नेपाललाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेमा उनी बढि चिन्तित छन् । हुन त नेपालमा समृद्धि भन्ने शब्दको बढि चर्चा र प्रयोग गैरआवासीय नेपाल संघले नै गरेको हो । संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो हुन् । उनले नै विश्वभरि छरिएर रहेका नेपालीहरुलाई संघमार्फत जोडे । एकीकृत गराए । र विदेशमा सिकेको सिप, दक्षता र अनुभवलाई नेपालको विकासमा लगाउन डा. महतोले आह्वानमात्रै गरेनन, उनले यसलाई अभियानको रुपमा सञ्चालन गरे । महतोसँगै जीवा लामिछाने, देवमान हिराचन, शेष घलेले पनि संघको नेतृत्व गरे । र, अहिले संघको नेतृत्वमा छन् उनै भट्ट । भट्ट संघमा अहिलेसम्मकै सर्वशक्तिमान अध्यक्षको रुपमा हेरिएका छन् । सरल, सहज, लोभलाग्दो व्यक्तित्वमा थप गतिशिलता भरिएका भट्ट नेपालको विकास र समृद्धिप्रति निकै सचेत छन् ।

नेपाल सरकारसँग पनि उनको धेरै घनिष्ठ सम्बन्ध छ । नेपालमात्रै होईन, जापानमा पनि उनको राजनीतिक पहुँच राम्रो छ । जापान सरकारसँग उनको धेरै राम्रो सम्बन्ध छ । कतिसम्म भने नेपालका लागि जापानी राजदुतहरुलेपनि भट्टलाई नेपालको घनिष्ठ मित्र भनेर सम्बोधन गर्ने गरेका छन् । नेपालका प्रमुख दलका प्रायः सबै नेताहरुसँग उनको धेरै राम्रो सम्बन्ध छ । वर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगपनि उनको उतिकै राम्रो सम्बन्ध छ । सबैले उनलाई मन पराउँछन् ।

अहिले उनको प्रयास भनेको वर्तमान प्रधानमन्त्री ओलीलाई जापान भ्रमण गराउनेतिर केन्द्रित छ । त्यसको लागि उनी गृहकार्यमा जुटेका छन् । प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाट सुरु भएको हो । उक्त भ्रमणमा पनि उनी सहभागी थिए । ओलीले उनलाई धेरै विश्वास गर्छन् । भारतपछि ओली अब दोस्रो विदेश भ्रमणको रुपमा अर्को छिमेकी मित्रराष्ट्र चीन जाँदैछन् । त्यसपछि तेस्रो भ्रमण चाहीँ जापान गराउने भट्टको चाहना छ । प्रधानमन्त्रीलाई जापानमा कम्तिमा पनि ५ दिन घुमाउने उनको चाहना छ । भ्रमण ताका नेपाल–जापान द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउने, आगामी दिनमा उच्चस्तरीय भ्रमणहरु आदान–प्रदान गराउने, जापानबाट नेपालमा लगानी भित्र्याउन सकिन्छ भन्ने भट्टको पूर्ण विश्वास छ ।

हुन त नेपालको विकासमा जापानको सहयोग र सद्भाव सँधै रहँदै आएको छ । आगामी दिनमा पनि नेपालको विकासमा जापानी अनुदान र सहयोग जुटाउन भट्ट यतिवेला जोडतोडले लागेका छन् । उनको मिसन भनेको नेपाललाई समृद्धि र विकासको यात्रामा डोर्याउनु नै हो । त्यस्तै, विदेशमा बस्ने नेपालीहरुलाई समृद्ध नेपाल बनाउने अभियानमा जोड्नु पनि अर्को उद्देश्य छ ।

समृद्ध नेपालमा एनआरएनएको साथ

भट्ट सन् २००३ मा सम्पन्न भएको एनआरएनको पहिलो विश्व सम्मेलनदेखि नै संघमा सक्रिय थिए । उनले सन् २००३ देखि २००४ मा जापान एनआरएनएको तदर्थ समितिको सदस्यको रुपमा काम गरेका हुन् । एनआरएनए जापानको अध्यक्ष, एनआरएनए अन्र्तराष्ट्रिय परिषदको कोषाध्यक्ष, आईसिसीको उपाध्यक्षको दोस्रो कार्यकाल सम्पन्न गरेर उनी अहिले अध्यक्षको रुपमा कार्यरत छन् ।

आफ्नो कार्यकाल एनआरएनएका लागि नयाँ युगको सुरुवात गर्नेगरि उनले आफ्ना गतिविधिहरु अघि बढाएका छन् । संघको सदस्य दोब्बर बनाउनेगरि उनी महाअभियानमा होमिएका छन् । नेपालमा एनआरएनए र विदेशी लगानीको लागि वातावरण बनाउने र सरकारलाई दबाब तथा सहयोग गर्नेगरि समृद्ध नेपाल बनाउने महाअभियानमा जुटेका छन् ।

पछिल्लो समय ‘अतिथि देव भेव’ अन्र्तगर्त नमस्ते अभियान नेपालमा पर्यटक भित्र्याउने तथा पर्यटकलाई नेपाल भ्रमणको लागि आर्कषण गर्ने उद्देश्यले देश तथा विदेशमा अभियान चलाएका थिए । गोरखाबाट २० वर्षअघि अध्ययनको लागि जापान पुगेका भट्ट जापानका प्रतिष्ठित व्यवसायीमा चिनिन्छन् । अथक मेहनत र संघर्षको फल मीठो हुन्छ भन्ने कुरा भट्टबाट जो कोही नेपालीहरुले पनि पाठ सिक्न सक्छन् ।

देशको ४१ औं प्रधानमन्त्रीमा चयन भएकोमा ओलीलाई संघका तर्फबाट अध्यक्ष भट्ट र संस्थापक अध्यक्ष एवम् प्रमुख सल्लाहकार डा. महतोको टोलीले बधाई दिएका थिए । उक्त टोलीले प्रधानमन्त्रीको आगामी कार्यकालका लागी अग्रिम शुभकामना व्यक्त गरेको थियो । एनआरएनएको बधाइ ग्रहण गर्दै प्रधानमन्त्री ओलीले देशलाइ समृद्ध र नेपालीलाई सुखी बनाउने बाहेक आफ्नो अरु कुनै उद्धेश्य नरहेको स्पष्ट पार्दै आफ्नो उद्देश्यमा साथ दिन आग्रह गरेका थिए ।

‘जनताको विश्वासलाई सार्थक बनाउने मेरो एक मात्र उद्धेश्य हो’ प्रधानमन्त्री ओलीले त्यतिवेला भनेका थिए,‘देश विकासका लागि गैह्र आवासीय नेपालीको भुमिका महत्वपूर्ण हुनेछ।’ एनआरएनएका अध्यक्ष भट्टले पनि प्रधानमन्त्रीको योजनामा आफुहरुको शतप्रतिशत योगदान हुने बताएका थिए ।

हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेपालका लागि जापानी राजदुत मासासी ओगावा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदाई भेट गर्न पुगेका थिए । भेटमा प्रधानमन्त्री ओलीले जापानका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन पहल गरिदिनुहोस् भनेका थिए । तर राजदुत ओगावाले यसको लागि एनआरएनए अध्यक्ष भट्टले कुराकानी गरिरहेको सुनाएका थिए ।

भट्ट यतिवेला जापानमै छन् । उनी नेपालमा जापान लगायत विदेशबाट लगानी भित्र्याउने अभियानमा जुटेका छन् । प्रधानमन्त्री ओलीले कम्तिमा पनि १० वटा देशको भिजिट गर्नुपर्ने उनको सुझाव छ । नेपालमा लगानी भित्र्याउने उनको चाहना पूरा हुँदैछ ।

भट्टले नेपाललाई समृद्ध बनाउन आफुहरु जस्तोसुकै काम गर्नपनि पछि नपर्ने विश्वास दिलाएका थिए । त्यसैले प्रधानमन्त्रीको समृद्धिको पाईलामा संघका अध्यक्ष भट्टको पूर्ण साथ र सहयोग रहनेछ । देशलाई समृद्धितर्फ डोर्याउन उनीहरु सफल होउन् । हाम्रो शुभकामना छ ।



प्रतिक्रिया दिनुहोस्