Logo

‘ऋषि धमलाजी मधेशीको मन नचिढ्याउनुस, मुलुक विखण्डनतिर जान्छ’



जेठ ९, काठमाण्डौ । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले आफू केन्द्र सरकारसँग लड्न र भिड्न नभै प्रदेश नम्बर दुईको विकास गर्नका लागि तत्पर रहेको बताएका छन् ।

तर केन्द्र सरकारले प्रदेशप्रति हेर्ने दृश्टीकोण नकारात्मक भएको उनको आरोप छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले आफ्नो अमेरिका भ्रमणलाई केन्द्र सरकारले रोकेकोमा आपत्ति जनाए ।

“देश संघीयतामा गइसकेपछि प्रदेश सरकारका मुख्यमन्त्रीले चाहेको बेलामा विदेश भ्रमणमा जान पाउनुपर्छ । तर केन्द्र सरकारले गलत नजिर बसाएर प्रादेशिक अधिकार र स्वायत्तताप्रति गम्भीर भएन ।” उनले भने ।

केन्द्र सरकारले आफ्नो अमेरिका भ्रमणरद्द गरेको बारे आफूलाई जानकारी गराउनुपर्नेमा मिडियाबाजी गरेको आरोप राउतको छ ।

मधेशीलाई विखण्डनकारीको रुपमा हेर्नु मुलुकका लागि दुर्भाग्य भएको उनको तर्क छ ।
“मधेशीमा राष्ट्रियता छैन, विदेशीका लागि काम गर्छन् भन्ने जुन दृश्टीकोण छ यो मुलुकको लागि दुर्भाग्य हो । मुलुकको स्वायत्तता र सम्मानप्रति हामी प्रतिवद्ध छौँ ।” राउतले भने ।

मधेशीलाई हेर्ने दृश्टीकोण नै फरक हुनु दुखद भएको उनले बताए । “हामी कतिपटक परीक्षा दिने ? यो मुलुक हाम्रो हो भनेर कतिलाई भन्ने? खुला सिमानामा देशको रक्षा कसले गरेको छ ?” उनले प्रश्न गरे ।

मधेशका उत्पिडित जनताले नै देशको रक्षा गर्ने उनको भनाई थियो । “धोति गम्छा लगाउने कसैले पनि यो मुलुकप्रति गद्दारी गरेको छैन । तपाईहरु किन बुझ्नुहुन्न ?”

अहिले प्रदेश सरकार नीति तथा कार्यक्रम निर्माणको तयारीमा रहेको राउतले जानकारी दिए ।

जनताले खोजेका चाहेका कुरालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष राख्दा अनावश्यक रुपमा विवादित बनाइएको उनको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्