Logo

मन्त्रीकै माँग : अब मन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्छ



काठमाडौं, ९ जेठ । वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य मन्त्रीहरुले समेत आज सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्रमा सम्पत्ति विवरण सार्वजनिक गनुपर्ने कानुनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले आज सम्पत्ति सार्वजनिक गरेका छन् ।

मन्त्रीहरुको सम्पत्ति सार्वजनिक भएसँगै अहिले सामाजिक सञ्जालहरुमा विभिन्न टिकाटिप्पणीहरु भैरहेका छन् । मन्त्रीहरुको सम्पत्ति देखेर कत्तिले जिब्रो टोकेका छन् । उनीहरुले यत्तिका पैसा कसरी कमाए भनेर समेत प्रश्न गर्न थालिएको छ ।

मन्त्रीको सम्पत्तिमाथि शंका लागेर कसैले निवेदन हाल्यो भने मात्रै पनि अब उनीहरुको सम्पत्ति छानबिन हुन्छ । वर्तमान सरकारकै एक प्रभावशाली मन्त्री थममाया थापाले पत्रकार ऋषि धमलासँग भनेकी छिन्,“अब मन्त्रीहरुको सम्पत्ति छानबिन हुन्छ । कालो धन हो कि होईन ? यसको लागि छानबिन त हुनुपर्यो नि ?”

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक

प्रधानमन्त्री ओलीले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरणमा ४२ लाख रुपैयाँबाहेक बाँकी सबै सम्पत्ति श्रीमती राधा शाक्यको नाममा रहेको देखाइएको छ ।
रु ४२ लाख भने प्रधानमन्त्री ओलीले तलबमार्फत आर्जन गरेको भनी उल्लेख गरिएको छ । यस्तै, श्रमती राधाको नाममा भक्तपुरमा डेढ रोपनी र झापामा १० कठ्ठा जमिन रहेको छ । भक्तपुरमा एक रोपनीमा बनेको ढाई तलाको पक्की भवन समेत सम्पत्ति विवरणमा देखाइएको छ । राधाका नाममा रहेका सबै सम्पत्ति स्वआर्जन भनी उल्लेख गरिएको छ ।

यस्तै, राधाको नाममा रु १० लाख माछापुच्छे बंैक र प्रभु बैंकमा रहेको देखाइएको छ । उनको नेपाल राष्ट्र बैंकको पूर्व प्रथम श्रेणीको कर्मचारी हुँदा रु २५ लाख राष्ट्रिय बचत पत्रमा रहेको उल्लेख गरिएको छ ।

वर्तमान सरकारका रक्षामन्त्री ईश्वर पोखरेलको झापाको चन्द्रगढीमा १२ कठ्ठा जग्गा र टोखामा पैतृक घर तीन तले घर रहेको सम्पत्ति विवरणमा देखाइएको छ । मन्त्री पोखरेलको नाममा इन्भेष्टमेन्ट बैंकमा सात लाख रुपैयाँको शेयर रहेको छ ।

त्यस्तै गृहमन्त्री रामबहादुर थापाकीे श्रीमती नैनकला थापाको नाममा चितवनको भरतपुर–१०, चित्रसेन मार्गमा एक कठ्ठा ०.७५ धुर जग्गा रहेको छ । सम्पत्ति विवरणमा सुन छ तोला र नगद तीन लाख रहेको देखाइएको छ ।

त्यसैगरी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको चार आना जमीनमा काठमाडौँमा बनेको दुई तले पक्की घर रहेको छ । रु दुई लाख ५७ हजार एभरेष्ट र रु दुई हजार कृषि विकास बैकमा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाको रु एक करोड ४९ लाख बराबरको जग्गा रहेको छ । उक्त रकम बराबरको जग्गा डा खतिवडा र श्रीमतीको संयुक्त नाममा रहेको सम्पत्ति विवरणमा देखाइएको छ ।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको मोरङ विराटनगर १२ मा एक कट्ठा जमिनमा ५ कोठे घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनले आफूसँग पुरानो एक थान साइकल रहेको पनि जनाएका छन् ।

त्यसैगरी, कानूनमन्त्री शेरबहादुर तामाङको श्रीमतीका नाममा काठमाडौंमा अढाइ तले घर रहेको छ । मन्त्री तामाङको सिन्धुपाल्चोक, मोरङ र खोटाङमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

 मन्त्री महासेठ सबैभन्दा धनी

१८ मन्त्रीमध्ये महिलामन्त्री थममाया थापा सबैभन्दा गरीब र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ धनी देखिएका छन् । महासेठकी श्रीमती एवं सांसद जुली महतोको विभिन्न बैंक तथा वित्तीय संस्थामा धितोपत्र, ऋणपत्र र सेयर लगायत मात्रै ३९ करोड रुपैयाँ बराबरको छ ।

उनीसँग ५२ तोला सुन र डेढ किलो चाँदी छ भने ७२ लाख रुपैयाँ नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ । महासेठ र श्रीमतीको नाममा धनुषामा २ र ललितपुरमा एउटा घर छ । श्रीमती जुलीकुमारी महतो र उनका नाममा धनुषामा २ र ललितपुरमा एउटा घर रहेको पनि उल्लेख छ ।

त्यस्तै मन्त्री महासेठकी पत्नी महतोको नाममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ८ विघा, सिन्धुली कमलामाइ नगरपालिकामा ५ कठ्ठा, ललितपुर महानगरपालिका २ नख्खुमा २ रोपनी १३ आना, धनुषाको जनकपुर उपमहानगरपालिकामा ९ कठ्ठा जग्गा रहेको छ ।

त्यस्तै मन्त्री महासेठको नाममा जनकपुर उपमहानगरपालिकामा १४ कठ्ठा र धनुषाधाम नगरपालिकामा १ विघा १० कठ्ठा जग्गा रहेको छ । यातायात मन्त्री महासेठको सम्पत्ति विवरणमा नविल, नेपाल इन्भेष्टमेन्ट, माछापुछ्रे, एनआईसी एशिया र एभरेष्ट बैंकमा खाता रहेको उल्लेख भए पनि त्यहाँ भएको रकम उल्लेख गरिएको छैन ।

सबैभन्दा गरिब मन्त्री थममाया

त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थापाको नाममा भने म्याग्दीको बेनीमा आमाले दिएको एउटा घर रहेको छ । त्यस्तै गरगहनामा एक तोला सुन, तीनवटा बैंकमा गरी १५ हजार रुपैयाँ बचत रहेको छ ।



प्रतिक्रिया दिनुहोस्