Logo

गोरेको बयान आजपनि सकिएन, ठूला व्यक्तिको नामसमेत खोले



विराटनगर, जेठ १० । साढे ३३ किलो सुन तस्करी र त्यससँग जोडिएको सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त बनाइएका चूडामणि उप्रेती ‘गोरे’को बयान लिनेक्रम बिहीबार पनि सकिएन ।

जिल्ला अदालत मोरङमा बिहीबार पनि साढे ५ घन्टा उनको बयान लिइएको हो । बिहीबार गोरेले दिएको बयानको १६ पेजको विवरण उतारेको अदालतले जनाएको छ ।

मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको विषयमा पनि गोरेसँग सोधपुछ गरिएको जनाइएको छ । गोरेको बयानबाट धेरै महत्वपूर्ण सूचना आएको अदालत स्रोतले जनाएको छ ।

बयानमा उनले केही ठूला व्यक्तिको नामसमेत खोलेको बताइएको छ । तर, ती नामहरु खुलाउन बयान लिने अधिकारीहरुले अस्वीकार गरेका छन् ।

गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी–पैठारीको मुद्दा लगाइएको छ ।उनको बयान शुक्रबार पनि जारी रहनेछ ।

यसअघि, मंगलबार सुन तस्करीकान्डमा मुछिएका उच्च प्रहरी अधिकारीसहित २८ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एअरलाइन्सका कर्मचारी र प्रहरीसँग ‘सेटिङ’ मिलाएर गोरेले सुन तस्करी गर्दै आएको आरोप प्रहरीले लगाएको छ ।

गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा उनले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको आरोपसमेत लागेको छ ।



प्रतिक्रिया दिनुहोस्