Logo

सरकारको सय दिन : प्रधानमन्त्री केही मन्त्रीसँग रुष्ट



काठमाडौं, ११ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको आज सय दिन पुगेको छ । सरकारले यो ‘हनिमुन पिरियड’ मा यातायात क्षेत्रको सिण्डिकेट तोड्ने, वैदेशिक रोजगारीमा देखिएका समस्याहरु हल गर्ने लगायत केही कामबाहेक खासै उल्लेखनीय काम केही पनि गर्न सकेको छैन् । सरकारको यही गतिको कार्यशैलीले मुलुकले समृद्धि हाँसिल गर्नेमा जनतामा अझैपनि आशंका रहेको छ ।

प्रधानमन्त्री ओली यतिवेला आफ्नो नेतृत्वमा सरकारमा सहभागी केही मन्त्रीहरुको कार्यशैलीप्रति त्यति सन्तोष छैनन् । प्रधानमन्त्री ओली आफ्नै विश्वासिला नेता समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलसँगपनि रुष्ट छन् । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सुरक्षा विषयमा चौतर्फी आलोचना भएकोले प्रधानमन्त्री ओली रक्षामन्त्री पोखरेलसँग असन्तुष्ट छन् ।

त्यस्तै प्रधानमन्त्री ओली यतिवेला भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँगपनि त्यति सन्तुष्ट नभएको खबरहरु बाहिर आएका छन् । खासगरी मन्त्री महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालयमा सरुवा गरेपछि ओली असन्तुष्ट बनेको स्रोतको दाबी छ ।

उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनसँगपनि प्रधानमन्त्री ओली बेखुशी छन् । खासगरी भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको क्रममा अरुण तेस्रोको शिलान्यास कार्यक्रममा राम्रोसँग कोअर्डिनेशन नगरेको र उल्टै प्रधानमन्त्रीले बाईपास गरेको भनेर दुखेसो गरेकोमा ओली मन्त्री पुनसँग असन्तुष्ट छन् ।

कर्मचारीप्रति आक्रमक अभिव्यक्ति दिँदै आएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको कामबाट पनि ओली सन्तुष्ट छैनन् । मन्त्री पण्डितले कर्मचारी व्यवस्थापन गर्न नसकेको ओलीको आरोप छ ।

खानेपानी तथा सरसफाईमन्त्री विना मगरको काम गराईबाट पनि ओली त्यति सन्तोष हुन सकेका छैनन् । तर प्रधानमन्त्री ओलीले कतिपय मन्त्रीहरुको कामको प्रशंसा गरेका छन् । कृषिमन्त्री चmक्रपाणि खनालसँग उनको त्यति असहमति छैन् ।

सरकारको सय दिनको कामप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आलोचना गरेको छ । सरकारले तीन महिनासम्मपनि केही उल्लेखनीय काम गर्न नसकेको आरोप कांग्रेसको छ । कांग्रेसले सरकारको सय दिन : ‘सामान्य गति, दर्जन विसंगति’ शीर्षकमा सार्वजनिक गरेको भिडियो सन्देशमा ओली सरकारको गतिलाई पनि सामान्य भनेको छ।



प्रतिक्रिया दिनुहोस्