Logo

बालकृष्ण ढुङ्गेललाई माफी दिने सरकारको तयारीमा सर्वोच्च बाधक



जेठ ११, काठमाण्डौ । यस वर्षको गणतन्त्र दिवसका अवसरमा सरकारले हत्याको पुष्टी भइ जेल जीवन विताइरहेका बालकृष्ण ढुङ्गेललाई आम माफी दिने तयारी गरिरहेको छ ।

तर सर्वोच्च अदालतले वालकृष्ण ढुंगेललाई आममाफी दिने निर्णयका विषयमा लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश दीपककुमार कार्कीको इजलासले ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिनुपर्ने कारणबारे लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय र बालकृष्ण ढुंगेललाई विपक्षी बनाएर दायर गरेको रिटमा ढुंगेललाई आममाफी दिने निर्णय रोक्न अन्तरिम आदेश पनि माग गरिएको थियो ।

सर्वोच्चले अन्तरिम आदेश दिने या नदिनेबारेमा छलफलका लागि जेठ १३ गते दुबै पक्षलाई छलफलमा बोलाएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।

सरकारले गणतन्त्र दिवसको अवसर पारेर ढुंगेललाई आममाफी दिने तयारी गरेको छ । कारागार व्यवस्थापन विभागले आममाफी पाउने कैदीको सूची राष्ट्रपति कार्यालयमा बुझाइसकेको छ ।

सशस्त्र द्वन्द्वको सयममा भएको ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा दोषी ठहर गरिएका तत्कालिन माओवादी नेता बालकृष्ण ढुङ्गेल अहिले जेलमा छन् ।



प्रतिक्रिया दिनुहोस्