Logo

ओली सरकारको मधुमास–भ्रष्टचारको जालो तोडिएन, सिन्डिकेट र सुन चर्चामा



जेठ ११, काठमाण्डौ । केपी ओली नेतृत्वको सरकार गठन भएको एक सय दिन पूरा भएको छ । यस अवधिमा सरकाले के कस्ता काम गर्यो भन्ने चर्चा चलिरहेको छ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीले सय दिन उपलब्धिमुलक भएको दाबी गरेको छ भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कमी कमजोरी औँल्याउने प्रयास गरेको छ ।

प्रधानमन्त्री ओलीले सरकार गठन भएलगत्तै समृद्ध नेपाल सुखी नेपालीको नारा चर्चामा ल्याए । पटक पटक भ्रष्टाचारको अन्त्य गर्ने उद्घोष गरे । सुशासन कायम गर्दै देशलाई समृद्धिको यात्रातर्फ अघि बढाउने ओलीको भनाईलाई सबैले पर्ख र हेरको नीति लिए ।

ओली नेतृत्वको सरकारको सय दिन पुगेसँगै यस अवधिमा केके भए भन्ने चासो सबैमा देखिएको छ ।

भ्रष्टाचार रोक्ने नै मुख्य एजेण्डा बनाए पनि भ्रष्टाचार रोक्नेतर्फ खास कदम चालेको भने देखिएन । भ्रष्टाचार रोक्ने संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि पुरानै कार्यशैलीलाई निरन्तरता दिएको मात्रै छ ।

कर्मचारी र मन्त्रीमा भ्रष्टाचारको गन्ध कायमै छ ।

तर प्रधानमन्त्री ओलीले विदेश जाने कर्मचारीलाई कडाई गरेका छन् । यसलाई सुशासनको संकेतको रुपमा लिन सकिन्छ ।

यद्यपी कमिसन र भनसुनकै आधारमका काम गर्ने प्रवृत्ति हटेको छैन । सरुवा बढुवा मन्त्रीकै चाहनाअनुसार भइरहेको छ ।

सय दिनको अवधिमा यातायात क्षेबत्रको सिन्डिकेट तोड्ने प्रयास गर्यो । कार्यान्वयतको पाटोमा परिवर्तन नदेखिए पनि झिनो परिवर्तनको अनुभूति भएको छ ।
सर्वसाधारणको प्रत्यक्ष सरोकारको विषय रहेको महङ्गी नियन्त्रण हुन सकेको छैन ।

सय दिन पूरा भएको अवसरका प्रमुख प्रतिपक्षी नेपाली कांग्रसले सरकारको कामप्रति १२ वटा आरोप लगाउँदै विकृतिको संज्ञा दिएको छ ।

कांग्रेसले भनेको छ–“चुनावअघि हाम्रो सरकार बनेपछि अतिआवश्यक मुल्यलाई नियन्त्रण गर्छौ, घटाउनेछौ । तर सरकार बनेको यो सय दिनमा सरकारको व्यक्तित्वले सगरमाथाको उचाइ लियो कि लिएन थाहा छैन । तर बजारमा अत्यावश्य वस्तुको मुल्यले भने घनघस्याको उकालो कट्नै लागेको छ ।”

समृद्धिको एजेण्डा आएको छ तर बहसमै सिमित छ । तर ओली नेतृत्वको सरकार परराष्ट्र नीतिमा भने केही हदसम्म सफल भएको मानिन्छ । ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा सुधार आएको छ ।

ओलीले प्रधानमन्त्री भए लगत्तै भारत भ्रमण गरेर सम्बन्ध सुधारको आधार बलियो बनाए । उनले नेपालको हितका सन्दर्भमा बुँदागत रुपमा मोदीसँग कडिकडाउ ढंगलेनै कुरा राखे ।

ओली फर्किए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेर सम्बन्ध सुधार र भारत कोर्ष करेक्सन चाहन्छ भन्ने संकेत दिए । त्यसलगत्तै विराटनगरस्थित भारतीय फिल्ड अफिस हटेको घोषणा गर्नुलाई ओलीको कुटनीतिक सफलता मान्नुपर्छ ।

मोदीले नेपाल भारत सम्बन्ध नयाँ युगमा प्रवेश गरेको हैदरावाद हाउसबाटै घोषणा गरेर बिगतका गल्ती कमजोरीबाट अघि बढ्ने कूटनीतिक अभिव्यक्ति दिइसकेका छन् ।

तर विगतमा भारतलाई गाली गरेर राष्ट्रवादी नेता बनेका ओली अहिले भने मोदीको नेपाल भ्रमणका बेला राष्ट्रियता कायम राख्न नसकेको आरोप खेप्न बाध्य भए ।

पछिल्लो समय सशस्त्र द्वन्द्वको सयममा ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा दोषी ठहर गरिएका तत्कालिन माओवादी नेता बालकृष्ण ढुङ्गेललाई आममाफी दिने प्रयासले सरकारको आलोचना भइरहेको छ ।

तर सय दिनमा सरकारले नीति तथा कार्यक्रम ल्याउन सफल भएको छ ।

यससम्बन्धमा आशंका गर्दै कांग्रेसले भनेको छ–“सय दिनकै बीचमा सरकारले नीति तथा कार्यक्रम ल्यायो। नीति राम्रो छ । कार्यक्रम शुन्य । एक वर्षका लागि तयार गरिन्छ। सरकारले यो विर्सिएको छ । बलियो भनेको सरकारले एक्यवद्धता प्रस्तुत गर्न नसक्नु दुर्भाग्य हो ।”

यस अवधिमा नेपालमा लामो समयदेखि हुने गरेको सुन तस्करको जालो तोड्ने प्रयास सुरु भएको छ । सुन तस्करी जस्ता संगठित अपराधविरुद्ध सरकारको कारवाहीलाईं जनताले नजिकबाट नियालिरहेका छन् । अहिलेसम्म अनुसन्धान सही दिशामा गए पनि सरकार कतिसम्म टिक्छ भन्ने प्रश्न छ । शुरुआती सय दिनमा प्रश्न उठाइहाल्नुपर्ने अवस्था भने देखिएको छैन ।

तत्कालिन नेकपा एमालेका अध्यक्ष तथा वाम गठबन्धनका नेता ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । यसबीचमा उनी एमालेबाट शक्तिशाली नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष भइसकेका छन् ।

गठबन्धन सरकारको नेतृत्व गरेका ओलीसँग अब आफ्नै दलको एकल बहुमत छ । ओलीको एक सय दिनको सबैभन्दा ठूलो उपलव्धी यो पनि हो कि, उनी यसबीचमा करीव दुई तिहाई बहुमतसहितको शक्तिशाली प्रधानमन्त्री बनेका छन् ।

अब ओलीले ५ वर्ष सरकार चलाउन पाउनेछन् । यस अवधिमा ओलीले सपनामात्र देखाउछन् कि जनतालाई ती सपना पूरा गरेर देखाउँछन् भन्ने चसो सबैमा छ ।



प्रतिक्रिया दिनुहोस्