Logo

चीनसँग नयाँ सम्झौता गर्न ओलीलाई दबाब, खनाल र श्रेष्ठ बेईजिङमा



काठमाडौं, ११ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली चाँडै चीन भ्रमणमा जाने भएका छन् । पार्टी एकतापछि नेकपाको संसदीय दलको पहिलो बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू छिट्टै चीन भ्रमणमा जाने घोषणा गरेका थिए । सोही अनुसार अहिले सरकारले भ्रमणको तयारी समेत थालेको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओलीले पहिलो विदेश भ्रमण भारतको गरेका थिए । धेरैको अनुमान र आशंकलाई लत्याउँदै उनले चीन भ्रमण नगरी पहिलो विदेश भ्रमणको लागि भारत नै रोजेका थिए । यो बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालको भ्रमण गरिसकेका छन् । ओली र मोदीबीच यतिवेला घनिष्ठ सम्बन्ध रहेको बुझिएको छ । दुवै प्रधानमन्त्रीले एक अर्काको खुलेरै प्रशंसा गर्ने गरेका छन् । कतिसम्म भने मोदीले ओलीलाई सार्वजनिक कार्यक्रममै अंकमाल गरेर आफ्नो विशेष सम्बन्ध रहेको देखाए । अब यही बीचमा ओलीले चीनको भ्रमण गर्न लागेका छन् ।

ओलीले यसपटक चीन भ्रमणमा जाँदा कुनैपनि नयाँ सम्झौता नगर्ने मनशाय बनाएका थिए । तर, उनलाई आफू निकटका नेताहरुले नै चीनसँग नयाँ सम्झौता गर्नको लागि आन्तरिक दबाब दिएपछि उनी पनि यतिवेला द्धिविधामा रहेको स्रोतको दाबी छ । यो र यस्तै खाले आशंकाका बावजुद ओलीले चीन भ्रमण गर्दैछन् । तर, उनले चीन भ्रमणमा जानुपुर्व आफ्ना दुतहरुलाई चीन पठाएका छन् । यसअघि परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले चीनको भ्रमण गरेका थिए । उनको भ्रमणपनि ओलीकै चीन भ्रमणको तयारीको रुपमा हेरिएको थियो र छ ।

एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन भएपछि पहिलो पटक चीनसँग निकट मानिने नेताद्धय झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ आज चीन प्रस्थान गरेका छन् । उनीहरुको भ्रमणलाई पनि ओलीको भ्रमणको तयारीको रुपमा हेरिएको छ ।

उनीहरु प्रधानमन्त्रीको भ्रमण ताका नयाँ सम्झौता गराउन लागिपरिरहेको स्रोतको दाबी छ । त्यही भएर होला ओलीलेपनि दुवै नेतालाई नयाँ सम्झौता गर्नेगरि गृहकार्य गर्न आज चीन पठाएको हुन सक्ने नेकपाकै एक नेताले जानकारी दिए ।

ती नेताले भने,‘चीनसँग नयाँ सम्झौता पनि गर्ने र यसअघि भएका सम्झौताहरुलई पनि कार्यान्वयन गर्ने दुवै दबाब ओलीसामू छ, तर केही थरि नेताहरुले भने विगतमा भएका समझदारीहरु अब कार्यान्वयन गर्नुपर्छ, नयाँ सम्झौता गर्न हुन्न भनेर पनि भनिरहनुभएको छ, अब हेरौं उहाँले के गर्नुहुन्छ।’



प्रतिक्रिया दिनुहोस्