Logo

अहिले नै सरकारको आलोचना गर्ने बेला भएको छैन’ : गौतम



काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद सञ्जय गौतमले सरकारको नीति तथा कार्यक्रम ठूलो उपलब्धिमूलक नभएको जिकिर गरेका छन् । यद्धपी उनले ठूला वामपन्थी पार्टीहरु एक भएको चाहीँ उपलब्धिमूलक भएको स्पष्ट पारे ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता गौतमले नीति तथा कार्यक्रममा प्रशासनिक, सामाजिक र आर्थिक विषयमा ठोस कुरा नदेखिएको गुनासो पोखे ।

उनले भने,‘अर्थमन्त्रीले श्वेतपत्र ल्याउँदापनि देशको अर्थतन्त्रका ईण्डिकेटरहरुलाई नकारात्मक रुपमा चित्रण गरियो, मुलुकको आर्थिक अवस्था भयावह रहेको देखाईयो, तर नीति तथा कार्यक्रममा समृद्धिको सपना चाहीँ देखाईएको छ, तर हुनसक्ने र गर्नसक्ने सपनामात्रै बाँड्नुपर्छ भन्ने हाम्रो भनाई हो।’

नेता गौतमले समृद्धिका मुख्य आधारहरु कृषि, पर्यटन तथा भौतिक पूर्वाधार लगायतका क्षेत्रमा के गर्ने भन्ने कुराको प्राथमिकता नआएको पनि आरोप लगाए । उनले भने,‘सरकारको नीति तथा कार्यक्रममा नीतिहरु छन्, तर कार्यक्रमहरु छैनन्।’

उनले आउँने बजेटमा अब नीति तथा कार्यक्रममा रहेका कमजोरीहरुको परिमार्जन हुनेमा आफूहरु विश्वस्त रहेको बताए । राजनीतिक संक्रमणको अन्त्य भएको बताउँदै अब काम गर्नको लागि ईच्छाशक्ति हुनुपर्नेमा उनको जोड छ । उनले भने,‘सरकारको काम अब हेर्न बाँकी छ।’

नीति तथा कार्यक्रम सुकुम्बासी समस्या, अव्यवस्थित् बसोवास, संघीयता कार्यान्वयन, गरिबी, समावेशी र दलितहरुको बारेमा मौन रहेको पनि उनले गुनासो पोखे । उनले भने,‘सरकारको यो १०० दिनको यात्रामा ठूलो आशालाग्दो आयाम थपिएको छैन्।’ उनले सरकारलाई आफूहरु सँधै रचनात्मक सहयोग गर्न तयार रहेको सुनाए ।

नेता गौतमले वर्तमान सरकारले समृद्धि र विकास भनेपनि संघीयताको स्पिरिट समात्नेगरि नीति तथा कार्यक्रम नआएको आरोप लगाए । यद्धपी उनले सरकारको कामहरु अझै केही समय हेर्न बाँकी रहेको बताउँदै अहिले नै आलोचना गर्ने बेला नभएको बताए ।

त्यस्तै उनले प्रधानमन्त्री ओलीले आफूमा शक्ति केन्द्रिकृत गर्न खोजेको पनि आरोप लगाए । उनले भने,‘विभिन्न अंगहरु जस्तो राष्ट्रिय अनुशन्धान विभाग लगायतलाई आफू केन्द्रित गर्नुभएको छ।’



प्रतिक्रिया दिनुहोस्