Logo

कलाकारहरुका अधिकारहरुलाई संस्थागत गर्न आवश्यक कानून निर्माण गर्छु : कानूनमन्त्री तामाङ



कलाकारहरु खुशि हुँदामात्रै समाज र देश खुशि हुन्छन् : धमला
काठमाडौं, १२ जेठ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले कलाकारहरुका अधिकारहरुलाई संस्थागत गर्नको लागि आवश्यक कानून निर्माण गर्ने आश्वासन दिएका छन् ।

राजधानीको भृकुटिमण्डपमा आयोजित राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको उद्घाटन गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन । देशको लय र संस्कृतिको आधारमा सर्जकहरुलाई गीत निर्माण गर्न आग्रह गरेका मन्त्री तामाङ्ले रोयल्टीको व्यबस्थापन गर्नको लागि के गर्नुपर्छ त्यो राय लिएर आफूकहाँ आउन समेत आग्रह गरे ।

उनले भने,‘समाज र संस्कृतिलाई जर्गेना गर्ने खालका गीत रचना गर्न र संगीत भर्न आग्रह गर्दछु, तपाईहरुका अधिकारहरु के–के हुन ती लिएर आउनुहोला, त्यसका बारेमा आवश्यक कानून निर्माण गर्नको लागि मैले खेल्ने भूमिका खेल्नेछु।’

त्यस्तै वरिष्ठ गायक कुमार बस्नेतले संघको महाधिवेशन सफलताको कामना गर्दै नेपाली गीत संगीतलाई मौलिकताको रुप बनाउँन आग्रह गरेका छन् ।
गायिका एवम् राष्ट्रियसभा सदस्य कोमल वलीले कलाकारहरुको तर्फबाट आफु संसदमा रहेकोले कला क्षेत्रका समस्याहरु आफुमाझ ल्याउन आग्रह गरेकीछिन् ।

लोकप्रिय नायक निखिल उप्रेतीले आफ्नो जीवनको महत्वपूर्ण पाटो संगीत रहेको बताए । उनले भने,‘मैले खेलेको पहिलो चलचित्र पिंजडाको गीतमा सकीनसकि नाँचेको थिए, त्यसैले मलाई आजको दिनमा यहाँसम्म पु¥यायो, आगामी दिनमा पनि संगीतको साथ चाहिन्छ, चलचित्रलाई चलाउने पनि गीत तथा संगीत नै बनेको छ ।’

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले कलाकारहरु खुशि हुँदामात्रै समाज र देश खुशि हुने बताए । उनले भने,‘कानूनमन्त्रीज्यु कलाकारहरु समाजका ऐना हुन, उहाँहरु खुशि हुँदामात्रै समाज र देश खुशि रहन्छ, त्यसैले आवश्यक कानून निर्माण गर्नुस्, संगित बिनाको जीवन निरस हुन्छ, संगीत छ त जीवनको रसिलो अर्थ छ, संगीत हुने थिएन भने मानिसको जीवन सार्थक हुने थिएन, त्यसैले रिपोर्टर्स क्लब र म स्वयम यस क्षेत्रको बारेमा के गर्नुपर्छ तयार छौं, कलाकार साथीहरुका मागहरु राज्यले सुन्नपर्छ, सम्बोधन गर्नुपर्छ ।’

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले सांगीतिक क्षेत्रका संघ–संस्थाहरुले मिलेर अधिकारको लडाई लड्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने,‘हामीले बर्षौदेखी साँगीतिक रुपमा समाज र देश परिवर्तनको लागि लड्दै आयौं तर हामीले केही पाएनौं, कलाकारहरु समाजसेवीको रुपमा चिनिन थालेका छन्, हाम्रो बारेमा काूनन निर्माण गर्न काूननमन्त्रीज्युलाई आग्रह गर्दछु ।’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, कर्णाली प्रदेशका संयोजक कृष्ण कँडेलले संगीतको उचित विकास र प्रचारमा जुट्ने खालको नेतृत्व चयन गर्न संघलाई आग्रह गरेका छन् ।

उनले भने,‘मिलेर जानुपर्छ, राजनीतिक दलहरु मिलेर अघि बढ्दैछन्, हामीहरु किन नमिल्ने ? उचाल्ने र पछार्ने काम कसैले गर्नुहुँदैन, ठूलो स्वरमा बोलेपनि जनताले सुन्छन्, सानो स्वरमा बोलेपनि सुन्छन्, बरु के बोल्ने भन्ने कुराको हेक्का राख्नुपर्छ, राष्ट्रिय संगीतकर्मी संघ ईतिहास बोकेको संस्था हो, अर्को नयाँ नेतृत्व निर्विवाद रुपमा चयन होस् मेरो शुभकामना ।’

कार्यक्रममा वरिष्ठ गायक कुमार बस्नेत, भोला थापा, वरिष्ठ गायिका तारा थापा, कोमल वली, कृष्ण कँडेल लगायत कलाकारहरुलाई सम्मान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्