Logo

‘जनतालाई अब केही हुन्छ कि भन्ने अनुभूति हुन थालेको छ’



जेठ १५, काठमाण्डौ । संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङ गणतन्त्र घोषणापछिको हरेक राजनीतिक परिवर्तनका साक्षी हुन् । पहिलो र दोस्रो संविधानसभामा अध्यक्षको भूमिका सफलतापूर्वक निर्वाह गरेका नेम्वाङले गणतन्त्रपछि धेरै ठूलो राजनीतिक परिवर्तन भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेम्वाङले गणतन्त्र र संघीयता संस्थागत भएको बताए । जनता अहिले राजनीतिक अधिकार सम्पन्न भएको दाबी गर्दै उनले अबका दिनमा मुलुकलाई आर्थिक समृद्धि र विकासको बाटोमा लैजाने विश्वास दिलाए ।

गर्नुपर्ने काम धेरै बाँकी रहेको बताउँदै नेम्वाङले भने, “अब समद्धितर्फ जानु छ । जनतालाई अब केही हुन्छ कि भन्ने अनुभूति हुन थालेको छ । जनताले अनुभूति गर्ने गरी कार्यान्वयत गर्नुपर्छ ।”

नेपालकै इतिहासमा प्रमुख प्रतिपक्षी दलसहित सबै दलले सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेकाले अब देश समृद्धिको बाटोमा जाने नेम्वाङले विश्वास दिलाए ।

निर्वाचनका बेला गरेका प्रतिवद्धता कार्यान्वयन गर्नुको विकल्प नरहेको भन्दै नेम्वाङले अबका दिनमा देश सही बाटोमा जाने दाबी गरे ।

आज सार्वजनिक हुने आर्थिक वर्ष २०७५–७६ को बजेटले जनताको जीवनस्तर उकास्नमा महत्वपूर्ण भूमिका खेल्ने नेम्वाङले बताए ।

“समृद्ध नेपाल सुखी नेपाली भनेर दीर्घकालिन लक्ष्य राखेका छौँ । यो लक्ष्य पूरा गर्नका लागि नै बजेट केन्द्रित हुन्छ ।” उनले भने ।



प्रतिक्रिया दिनुहोस्