Logo

फूलमाला लगाएर निस्किएका ढुंगेलको मानवअधिकारवादी र वकिलप्रति आक्रोस



जेठ १५, काठमाण्डौ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएपछि बालकृष्ण ढुंगेल रिहा भएका छन् । पूर्वसांसद समेत रहेका ढुंगेल मंगलबार विहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

रिहा भएलगत्तै उनले मानवअधिकारवादी र वकिलप्रति आक्रोस पोखेका छन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै ढुंगेलले युद्धका बेला शान्ति र शान्तिमा युद्धको खेती गर्ने ‘डलरवादीहरु’ले आफूलाई जेलमा सडाउने षड्यन्त्र गरेको आरोप लगाए । उनले भने, ‘डलरवादीहरुको अभियानप्रति घृणा व्यक्त गर्छु ।’

उनले आफूलाई रिहा गर्ने सरकारको निर्णयविरुद्ध मुद्दा हाल्ने वकिलहरुको पनि चर्को विरोध गरे । आफूले सर्वोच्च अदालतको सम्मान गर्ने तर, आफूविरुद्ध परेको रिटमा लामो बहस गर्न जरुरी नभएको ढुंगेलले बताए ।

०५५ सालमा ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा ०६६ मा उनलाई सर्वोच्चले सवैस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। गत कात्तिकमा उनी पक्राउ परेका थिए ।

ढुङ्गेललाई रिहा गर्ने समाचार प्रकाशन भएपछि परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाई जारी छ । यससम्बन्धमा अन्तरिम आदेशको माग गर्दै परेको रिटमा हिजो सुनुवाईको क्रममा बहस नसकिएकोले न्यायाधीशद्वय मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले ढुंगेलको कैद सजाय मिनाहासम्बन्धि सरकारी निर्णयको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयबाट फिर्ता हुने गरी अदालतमा झिकाई आज पेश गर्न आदेश दिएको थियो ।

११औँ गणतन्त्र दिवसको अवसरमा ढुङ्गेलसहित अन्य ८१६ कैदीले पनि कैद माफी पाएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी गरेकी हुन्। कैद माफी पाएकाहरु रिहा भएका छन् ।

असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिए सरकारको सिफारिसमा आधारमा कैद माफी दिन सक्ने व्यवस्था संविधानमा रहेको छ । संविधानको धारा २७६ बमोजिम उनीहरुलाई माफी दिइएको हो ।



प्रतिक्रिया दिनुहोस्