Logo

सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिक स्तरबाट जोड दिनुपर्ने : अध्यक्ष कडरिया



काठमाडौं, १५ जेठ । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिक स्तरबाटै जनचेतनमूलक कार्यक्रममा जोड दिनुपर्ने बताएका छन् ।

कडरियाले सुर्तीजन्य पदार्थको कारण दिन प्रति दिन मानिसहरु विभिन्न किसिमका रोगबाट प्रभावित भएकोले यस विषयमा गम्भिर भएर सोच्न सम्बन्धित निकायले ढिलाई गर्न नहुने धारणा राखे ।

क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुच्छ्रे बैंक लि. को प्रायोजनमा काठमाडौंको इपीएस स्कूल मिनभवनमा सञ्चालित जनचेतनामूलक कार्यक्रममा विर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा. डा. विष्णुदत्त पौडेलले क्यान्सर रोग लाग्दैमा आँत्तिनु नपर्ने धारणा राखे ।

यद्धपी डा. पौडेलले क्यान्सर रोग लागे समयमा नै उपचार गर्नुपर्ने र सचेत रहनुपर्नेमा जोड दिए । उनले विकसित देशमा सुर्तीजन्य पदार्थ उपभोगमा कमी भएतापनि नेपालजस्तो देशमा जनचेतनाको अभाव र साथीहरुको गलत संगतले गर्दा विद्यार्थीहरुले सानै उमेरदेखि सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको स्पष्ट पारे ।

नेपालमा जनचेतनाको अभावले गर्दा धेरैजसो क्यान्सर रोगीहरु रोग गम्भिर अवस्थामा पुगेपछि मात्रै अस्पताल आइपुग्ने हुँदा उपचारको प्रभावकारिता कम हुने कुरा उनको भनाई छ । सुर्तीजन्य पदार्थकै कारणले गर्दा विभिन्न किसिमका रोगबाट मानिसहरु प्रभावित भएको कुरा उनले स्पष्ट पारे ।

इपिएस स्कुलका प्रिन्सिपल प्रमिला सिंहले सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यालय स्तरबाटै अभियान सञ्चालन गर्नुपर्ने बताईन् ।

क्यान्सर काउन्सिल नेपालले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा धन्यबाद दिँदै सिंहले आगामी दिन यस इपिएस स्कूलपनि सुर्तीजन्य पदार्थ रोकथामको लागि क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

ग्रिन बुक्स पब्लिकेशनका शैक्षिक निर्देशक खेमनाथ कडरियाले उक्त कार्यक्रममा विद्यार्थीहरु व्यवहारिक रुपमा अनुसाशित नभएसम्म शिक्षा अपूर्ण हुने बताए ।
स्वस्थ समाज निर्माणको लागि सुर्तीजन्य तथा लागु पदार्थबाट टाढै बस्नुपर्नेमा उनको जोड थियो ।

उक्त कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक लगायत उल्लेखनीय सहभागीता थियो ।



प्रतिक्रिया दिनुहोस्