काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट देश र जनताको वस्तुस्थिति सुहाउँदो रहेको स्पष्ट पारेका छन् ।
उनले भने,‘समग्रमा बजेट देश र जनताको भावना अनुसार आएको छ, यो देश सुहाउँदो नै छ, जनताको वस्तुस्थिति मेल खाने खालको छ।’ उनले सांसदलाई दिएको पैसा दुरुपयोग नहुने पनि विश्वास दिलाए । उनले भने,‘सांसदलाई दिईन पैसा दुरुपयोग हुँदैन, त्यही भएर पैसा दिईएको हो ।’
सामाजिक सुरक्षा परिस्थिति त्यस्तै भएको कारण बढाउन नसकिएको प्रधानमन्त्रीको स्पष्टोक्ति थियो । त्यस्तै उनले अहिले करको दरमात्रै बढेको भएपनि आगामी दिनमा दायरा पनि बढाउने बताए ।
ओलीले सरकारले प्रस्तुत गरेको बजेट समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई साकार पार्ने गरी आएको पनि स्पष्ट पारे ।
ओलीले भने,“ठूला सपना देखाउनेभन्दा पनि यथार्थ धरातलमा टेकेर व्यवहारिक रुपमा बजेट आएको छ, यसले समृद्ध नेपालको आधार तय गर्नेछ ।”
करको लक्ष्य कसरी हासिल हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले करका दायराहरूलाई बढाउँदै लगेर लक्षित राजश्वलाई उठाइने बताए ।
वुद्धभत्ता वृद्धि नभएको भन्ने सम्बन्धमा उनले अघिल्लो सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा आर्थिक अनुशासन पालना नगरेकाले अहिले लोकप्रिययताका लागि नयाँ निर्णय नगरेको स्पष्ट पारे ।