कठमाडौं, १६ जेठ । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नै बजेटबारे मत एकता देखिएको छैन । अध्यक्ष तथा प्रधानमन्त्री ओली बजेट अहिलेसम्मकै राम्रो आएको दाबी गरेका छन् भने अर्का अध्यक्ष प्रचण्ड भने बजेटप्रति बेखुशी छन् ।
सरकारले लोकप्रिय बजेट ल्याउन रिस्क नलिएको प्रचण्डको गुनासो छ । स्रोतका अनुसार प्रचण्डले यो बजेटलाई पनि पूरानै बजेटको निरन्तरताको संज्ञा दिएका छन् ।
बजेट ल्याउनुपुर्व सम्बन्धित विज्ञ तथा पूर्व माओवादी केन्द्रका नेताहरुसँग पर्याप्त छलफल समेत नगरिएको प्रचण्डको गुनासो छ । समृद्धि र विकासको युगको आरम्भ गर्न यो बजेट पर्याप्त नभएको पनि प्रचण्डले आफू निकटका नेताहरुसँग गुनासो पोखेका छन् ।
तर प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बजेट पानीजहाज र काठमाडौंमा रेल कुदाउने भएको स्पष्ट पारेका छन् । उनले हिजो आएको बजेट आजसम्मको सबैभन्दा उत्कृष्ट र राम्रो भएको प्रतिक्रिया दिएका छन् ।
ओलीले बजेट पारित तथा कार्यान्वयनको लागि जुट्नुपर्ने समेत निर्देशन आफ्ना पार्टीका सांसदलहरुलाई दिएका छन् ।
उता कांग्रेसले बजेट सत्तासिन पार्टीको आफ्नै घोषणापत्र कार्यान्वयन गर्नेभन्दा पनि जनतालाई कर र ऋणको दायित्व बढाउने खालको भनी टिप्पणी गरेको छ ।
काँग्रेस संसदीय दलको बुधवारको बैठकले सरकारले मंगलबार प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल गर्दै कर र ऋणको भार बढाएकाले उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्ने निष्कर्ष निकालेको हो ।
अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गरेका थिए ।