Logo

ट्रम्प र उनबीचको भेट अन्यौल, चोल र माइकबीच पहिलो छलफल



जेठ १७ । उत्तर कोरियाली नेता किम जोङ उनका दाहिने हात मानिने एक नेताले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेटवार्ता गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यसअघि तय भएको भेटवार्ता के हुने भन्ने अन्योल कायम रहेका बेला किमका अतिनिकटस्थ नेता जनरल किम योङ चोलले विदेशमन्त्री माइकलाई न्यूयोर्कमा भेटेका हुन् ।

चोल अमेरिका भ्रमण गर्ने २० वर्ष यताकै हाइप्रोफाइल नेता हुन् । उनी चीनको राजधानी बेइजिङबाटबाट एयर चाइनाको जहाज चढेर अमेरिका पुगेका थिए ।

यसअघि ट्रम्प र किमबीच १२ जुनमा सिंगापुरमा हुने भनिएको ऐतिहासिक शिखर वार्ता अमेरिकाले एकतर्फी स्थगित गरेको थियो । परमाणु निःशस्त्रीकरणका विषयमा विवाद भएपछि ट्रम्पले पूर्वनिर्धारित कार्यक्रम रद्दको घोषणा गरेका थिए ।

तर अमेरिका र उत्तर कोरियाली नेताबीच वार्ताको वातावरण बनाउने प्रयास जारी छ । यसै प्रयासस्वरुप उत्तर कोरियाली नेता किमका निकटस्थ चोल र अमेरिकी विदेशमन्त्री माइकबीच पहिलो छलफल भएको छ र आजै अर्को चरणको भेटवार्ता हुनेछ ।

दुईबीचको उच्चस्तरीय भेटले जारी असहमति हल हुने विश्वास लिइएको छ ।



प्रतिक्रिया दिनुहोस्