काठमाडौं, १९ जेठ । ७ वर्षपछि उपेन्द्र यादव सरकारमा सहभागी भएका छन् । धेरैलाई आश्चर्य तुल्याउँदै यादवले पूनः सत्तारोहण गरेका हुन् । उनको सत्तारोहणसँगै अहिले एउटा प्रश्न उब्जिएको छ–उपेन्द्रलाई सरकारमा ओलीले कि प्रचण्डले सहभागी गराएको हो ? प्रधानमन्त्री केपी शर्मा ओलीको भित्री चाहना राजपा र फोरमलाई सँगसँगै सरकारमा लिएर जाने थियो ।
पछिल्लो समय एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि नयाँ राजनीतिक अवस्था सिर्जना भयो । यो बीचमा नेकपाका अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष यादवबीच धेरै पटक भेटवार्ता भएको थियो । भेटमा उनीहरुबीच समग्र राजनीतिक परिस्थिति र फोरमलाई सरकारमा सहभागी गराउनेबारे छलफल केन्द्रित थियो । र, दुई नेताहरुबीचको भेटवार्ता परिणाममा समेत देखियो । प्रचण्डकै कारण उपेन्द्र सरकारमा सहभागी भएका हुन् ।
हुन त प्रचण्ड उपेन्द्रलाई पहिलो चरणमै सरकारमा ल्याउन चाहन्थे । उनको चाहनामा ओली बाधक बनेका थिए । ओली प्रधानमन्त्री बनेपछि फोरमपनि सरकारमा सहभागी हुने हल्ला चलेको थियो । तर, उपेन्द्रले उपप्रधानमन्त्री माँगेका थिए । उपेन्द्रलाई उपप्रधानमन्त्री दिन प्रचण्ड समेत राजी थिए ।
एमाले र माओवादी केन्द्रबीच धेरै पापड पेलिसकेपछि एकता सम्भव भएको थियो । दुई पार्टीबीच एकता भएसँगै प्रचण्डले उपेन्द्रलाई सरकारमा ल्याउनुपर्छ भनेर प्रधानमन्त्री ओलीलाई दबाब दिएका थिए । उपेन्द्र यादवको सत्तारोहणसँगै अब संविधान संशोधनको लागि दुई तिहाईको स्पष्ट बहुमत वर्तमान सरकारसँग छ ।
उपेन्द्र र प्रचण्डबीच धेरै पहिल्यैदेखि नै केमेष्ट्री मिलेको छ । यी दुवै नेताको लाईन भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारी प्रमुख रहने प्रणाली नै हो । अब संविधान संशोधनको लागि दुई तिहाईको मत पुगेको छ ।
भविष्यमा राष्ट्रपतीय पद्धतीमा जाँदा प्रचण्ड बलियो हुने सम्भावना छ । ७ वर्षपछि उपेन्द्रलाई सत्तामा पुर्याउन प्रचण्डको ठूलो साथ र सहयोग रहेको छ ।