Logo

नेपाल मेडिसिटी अस्पतालद्धारा सिन्धुलीमा प्रयोगात्मक तालिम प्रदान (फोटोफिचर)



५० चिकित्सक सहभागी

सिन्धुली, १९ जेठ । नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुले सिन्धुली जिल्ला अस्पताल तथा आसपासका जिल्लाहरुका ५० जनाभन्दा बढी चिकित्सक तथा नर्सहरुलाई इमर्जेन्सी तथा क्रिटिकल केयर म्यानेजमेन्ट सम्बन्धि प्रयोगात्मक तालिम प्रदान गरेका छन् ।

शनिबार नेपाल मेडिसिटी अस्पतालका इमरजेन्सी मेडिसिनका प्रमुख डा. संजय कार्की, क्रिटिकल केयर विभागका कोअर्डिनेटर डा. दिप्तेश अर्याल र इमरजेन्सी पारामेडिक्स रमेश न्यौपानेले प्रयोगात्मक तालिम दिएका हुन् ।

बेसिक लाईफ सपोर्ट, इन्ट्युबेसन, श्वाँसप्रश्वाँसको व्यवस्थापन, ईमर्जेन्सीका आवश्यक उपकरणहरुको प्रयोग लगायतका सिपमूलक तालिमका लागि नेपाल मेडिसिटी अस्पतालले उपकरण, औजार तथा डमीहरुको ब्यवस्था गरी तालिम प्रदान गरेको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी दिए ।

उक्त कार्यक्रमको प्रारम्भमा सिन्धुली नगरपालिकाका प्रमुख खड्ग खत्रीले सिन्धुली जिल्ला अस्पतालको विकास र विस्तार स्थानीय सरकारको प्रमुख प्राथमिकतामा रहेको र यसका लागि नेपाल मेडिसिटी अस्पतालसँग सहकार्य गरी आगामी दिनहरुमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आफूहरु लागि पर्ने बताए ।

त्यस्तै कार्यक्रममा नेपाल रेडक्रस सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठले सिन्धुलीका जनताहरुलाई सुलभ र गुणस्तरीय सेवाका लागि आफूहरुले एम्बुलेन्स तथा शववाहनको ब्यवस्था गरेको बताए ।

सिन्धुली जिल्ला अस्पतालको क्षमता अभिवृद्धिका लागि आफूहरुले लामो समयदेखि प्रयास गरी रहेको र यसका लागि जिल्लाका सम्बद्ध निकायहरुबाट राम्रो सहयोग प्राप्त भईरहेको सिन्धुली जिल्ला अस्पतालका प्रमुख डा. सुमित्रा गौतमले बताइन् ।

नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा सिन्धुली लगायतका आसपासका अस्पतालहरुका चिकित्सकहरुका लागि जिल्लामै सीप तथा क्षमता अभिवृद्धि तालिमले ठूलो सहयोग पुगेको उनले बताईन् ।

नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक रिमालले अब सम्पूर्ण उपचार देशमै सम्भव भएको र त्यही सन्देशलाई सफलतापूर्वक लागू गर्न देशका सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरुको सिप तथा क्षमता अभिवृद्धि गर्दै स्वास्थ्य सबै नेपालीहरुको पहुँचमा पुर्याउने अभियानमा आफूहरु लागिरहेको विश्वास दिलाएका थिए ।

नेपाल मेडिसिटी अस्पतालले उपचारका लागि अब नेपालीहरुलाई विदेश जानु नपर्ने अवस्थाको सिर्जना गर्दै पूर्वाधार, प्रविधि र जनशक्तिको उत्कृष्ट ब्यवस्थापन गरी स्वास्थ्यलाई सबै नेपालीले धान्न सक्ने बताउन स्वास्थ्य बीमाका कार्यक्रमहरु लागू गरेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्