काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको पूर्व तयारीमा जुटेका छन् । ओली असार ६ गते चीन भ्रमणमा जाने भएका हुन् । भ्रमणको तयारीमा प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र नेकपाका नेता एवम् परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराई जुटेका छन् ।
ओलीले आफ्नो प्रधानमन्त्रीको दोस्रो कार्यकालमा उनले पहिलो विदेश भ्रमण भारत गरेका थिए । त्यसपछि उनी चीन जाँदैछन् । प्रधानमन्त्री ओलीले भ्रमण ताका चीनसँग नयाँ सम्झौता गर्नसक्ने बुझिएको छ । सोही अनुसार ओली अहिले भित्री रुपमा चीनसँग के–के सम्झौता गर्ने भन्नेमा आन्तरिक छलफल तथा गृहकार्यमा जुटेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अहिले हरेक मन्त्रालयका मन्त्रीहरुसँग योजना माँग गरेका छन् । मन्त्रीहरुपनि प्रधानमन्त्रीसँग निरन्तर सम्वादमा जुटेका छन् ।
ओलीको चीन भ्रमणमा ‘इनर्जी कोअर्डिनेशन’ सम्झौता हुने संभावना प्रबल रहेको बुझिएको छ । साथै गल्छी–केरुङ–रसुवागढी अन्तरदेशीय प्रसारणलाइनको डीपीआर निर्माण सहमति गर्नेपनि प्रधानमन्त्रीको चाहना छ । सोही अनुसार विभागीय मन्त्रालय अहिले छलफलमा जुटेको छ ।
त्यस्तै ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले चीनसँग ऊर्जा समन्वय सम्झौता गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको छ ।
बाहिर चीनसँग कुनै पनि नयाँ सम्झौता नहुनेजस्तो देखिएपनि प्रधानमन्त्री चीन भ्रमणमा नयाँ सम्झौता गर्नेगरि तयारीमा जुटेका छन् ।