काठमाडौं २३ जेठ । संसद् सचिवालयले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को अनुदानमा सांसदलाई दुईदिने तालिम दिने भएको छ । बुधबार र बिहीबार सचिवालयले संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा प्रशिक्षण आयोजना गरेको हो ।
विभिन्न सरकारी तथा गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ) को प्रभावमा संसद् सचिवालयले विगतदेखि नै सांसदहरूलाई तालिम र भ्रमणको नाममा मुलुकभित्र र बाहिर लैजाने गरेको छ । मुलुकको नीति निर्माण गर्ने सर्वोच्च निकायमा समेत एनजिओ/आइएनजिओको प्रभाव बढेको भन्दै आलोचना भइरहेका वेला संसद् सचिवालयले दातृ निकायको प्रभाव रोकेको छैन । सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले दुईदिने संसदीय प्रक्रियासम्बन्धी जानकारीमूलक कार्यक्रम गर्न लागिएको बताए । उनले भने, ‘यो नियमित प्रक्रिया हो । सांसदहरूलाई जानकारीमूलक प्रशिक्षण दिने अन्तर्राष्ट्रिय अभ्यास हो । विगतमा पनि हामीले गरेका थियौँ ।’
संसद् सचिवालय उच्च स्रोतका अनुसार युएनडिपीले दुईदिने प्रशिक्षणको सम्पूर्ण खर्च बेहोर्ने छ । स्रोतका अनुसार युएनडिपीले खाना, खाजादेखि सांसदहरूलाई भत्तासमेत दिनेछ । विगतका कार्यक्रममा यस्ता राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आकर्षक भत्तासमेत दिने गरेकाले सांसदहरूसमेत लोभिने गरेको सचिवालयका एक अधिकारीले बताए ।
संघीय संसद् सचिवालयअन्तर्गत संसदीय प्रशिक्षण शाखाका उपसचिव रामकुमार पौडेलले दुईदिने प्रशिक्षणमा युएनडिपीको सहकार्य रहेको बताए । उनले भने, ‘यस प्रशिक्षणका लागि युएनडिपीले कति छुट्याएको छ भन्ने हामीलाई थाहा छैन । खर्च भएका आधारमा युएनडिपीले व्यवस्था गर्ला ।’ तर, सांसदहरूलाई भत्ता दिने–नदिनेबारे युएनडिपीले आफूहरूलाई जानकारी नगराएको उनले बताए ।
एनजिओ/आइएनजिओको उद्देश्य के ?
संविधानसभादेखि यस्ता एनजिओ आइएनजिओले नेपालको संसद्मा आफ्नो उपस्थिति बढाएको जानकारहरू बताउँछन् । एनजिओ र आइएनजिओ खुल्ने क्रम बढेसँगै सरकारी अन्य निकाय तथा मन्त्रालयमा जस्तै संसद्मा समेत प्रवेश गरेको सचिवालयका एक पुराना कर्मचारीले बताए । उनले भने, ‘हामीले नेपालको संविधान निर्माणमा र संसद्मा कानुन निर्माणमा केही न केही योगदान गरेका छौँ भनेर आफ्नो देशमा देखाउन विदेशी संघसंस्थाले प्रभाव जमाएका हुन् ।’ उनका अनुसार संसद् सचिवालयकै कर्मचारीको सहयोगमा यस्ता संघसंस्था संसद्जस्तो ऐन निर्माणको सर्वोच्च संस्थामा हाबी भएका हुन् ।
स्रोतका अनुसार यस्ता संघसंस्थाले नेपालको नीति निर्माणमा समेत प्रभाव पार्दै आएका छन् । ‘मीठोमीठो खुवाएपछि अनि खाममा पैसासमेत हालेर खुसुक्क दिएपछि सांसदहरू मख्खै पर्छन्, अनि मीठोमीठो खुवाउने संघसंस्थाले भनेको नमानेर सुख ?’ स्रोतले भन्यो । युएनडिपीसहित जाइका, ल सोसाइटीलगायत संघसंस्थाले नेपालको संसद्मा प्रभाव जमाएका छन् । नयाँपत्रिकाबाट