Logo

संसदीय प्रणालीको थोत्रा पाटपुर्जा चलाउनुपर्छ भन्ने छैन : भट्टराई



जेठ २३, काठमाण्डौ । संविधान संशोधन गरेर नेपालमा प्रत्यक्ष निर्वाचित शाषन प्रणाली लागु गर्ने मनसाय नेपाल कम्युनिष्ट पार्टीमा देखिन थालेको छ ।

केही दिनअघि नेकपाका अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राख्ने विषयमा सहमति भइसकेको दाबी गरेका थिए ।

तर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भने अहिलेको अवस्था फेर्न खोजिए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले प्रत्यक्ष निर्वाचित शाषन प्रणाली नै नेपालका लागि उचित हुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले अहिलेको अवस्थामा कांग्रेसले पनि संसदीय व्यवस्थालाई अंगालो हालेर बस्न नहुने बताए ।

भट्टराईले नेपालमा अस्थिर शाषन प्रणाली लामो समय रहेकाले अब प्रत्यक्ष निर्वाचित व्यक्तिलाई कार्यकारी प्रमुख बनाउनुपर्छ भनेर संविधान निर्माणका बेला छलफल भएको दाबी गरे ।

नेपालमा संविधान बनाउने बेलादेखि नै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका बारेमा बहस भएको भट्टराईले स्मरण गराए । “त्यतिबेला सहमति जुट्न सकेन । संसदबबाट निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको संविधान बन्यो । अब यसलाई नयाँ सन्दर्भमा कसरी अगाडि बढाउने भन्ने छलफल भएको छ ।”

अमेरिका र चीनको शाषन प्रणाली करिब एउटै भएको भन्दै भट्टराईले नेपालमा आफ्नै मालिक प्रणाली स्थापित गरिने बताए ।

“चिनिया प्रणालीको आलोचना गर्ने पनि छन् । अमेरिकी प्रणालीको आलोचना गर्ने पनि छन् । त्यतातिर नजाउँ । तर नेपालमा पाँच सय वर्ष पुरानो संसदीय प्रणालीको थोत्रा पाटपुर्जा चलाउनुपर्छ भन्ने छैन ।” उनले भने ।

नेपालमा चिनियाँ मोडलको शाषन प्रणाली लागु नगरिने भट्टराईले स्पष्ट पारे । “हामी प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्री जुन प्रणालीमा गए पनि चीनमा जस्तो कम्युनिष्ट पार्टीले निर्णय गरेको व्यक्ति राष्ट्रपति वा प्रधानमन्त्री हुने होइन ।”



प्रतिक्रिया दिनुहोस्