Logo

पुँजीगत लाभकर खारेज



जेठ २३, काठमाण्डौ । बोनस र हकप्रद सेयरको अकिंत मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णयबाट सरकार पछि हटेको छ । अब पुरानै विधिबाट पुँजीगत लाभकर गणना गरिने भएको छ ।

लगानीकर्ता र ब्रोकर कम्पनीले सरकारको पछिल्लो निर्णयको विरोध गर्दै कारोबार नै बन्द गरेका थिए । यसरी कारोबार नै बन्द भएपछि अहिलेका लागि पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्नुभन्दै अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्र पठाएको छ ।

अर्थ मन्त्रालयले पुरानै विधिबाट बोनस र हकप्रद सेयरमा पँुजीगत लाभकर लगाउनु भनेर आन्तरिक राजस्व विभागलाई पत्र पठाएको हो ।

मंगलबार अर्थमन्त्रालयले यस विषयमा अध्ययन गर्न समिति गठन गरेको छ । उक्त समितिले १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने र त्यस अवधिसम्म शेयर कारोबार खोल्न लगानीकर्ताहरु सहमत भएका हुन् ।

हकप्रद र बोनस शेयरमा वृद्धि भएको लाभकरको विरोध जनाउँदै शेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा उत्रिएपछि नेप्सेमा मंगलबारदेखि नै कारोबार बन्द भएको थियो । लगानीकर्ताहरुले आन्तरिक राजश्व विभागको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताए पनि मन्त्रालयसँग बार्ता मिलेपछि शेयर कारोबार आजैदेखि खुला हुने बताइएको छ ।

अर्थमन्त्रालयसँगको वार्ता सकिए पछि लगानीकर्ताहरु आन्तरिक छलफलमा जुटेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्