Logo

नेविसंघको आयोजनामा जेठ २६ गते ‘एनयसयू टेक फेस्ट’ २०७५ हुने



काठमाडौं, २३ जेठ । नेपाल विद्यार्थी संघको आयोजनामा यही जेठ २६ गते एकदिने ‘एनयसयू टेक फेस्ट’ २०७५ को आयोजना गरिने भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा नेविसंघकी केन्द्रीय सदस्य एवम् इ.मेली शाहले पत्रकार सम्मेलन गरेर विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी एवम् सिर्जनशील उद्यमीहरुलाई लगानीको वातावरण सिर्जना गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको जानकारी दिएकी हुन् ।

राजधानीको अन्नपूर्ण होटेल दरबारमार्गमा सम्पन्न हुने कार्यक्रमका बारेमा जानकारी दिँदै केन्द्रीय सदस्य शाहले भनिन्,‘यस्तो खालको कार्यक्रम पहिलो पटक हो, कलेज स्तरमा व्यापारि वर्गहरुलाई उपस्थित गराएर विद्यार्थीहरुको क्षमता र दक्षता हरेर उहाँहरुले लगानी गर्ने मनस्थिति बनाउन सक्नुहुन्छ, यसबाट धेरैभन्दा धेरै विद्यार्थीहरुले लाभ लिनसक्ने हामीले आँकलन गरेका छौं, विहान ९ बजेदेखि साँझ पाँच बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ ।’

उनले अघि थपिन्,‘विभिन्न कलेजमा पढ्ने विद्यार्थीहरुले ल्याएर आएका आईडियाहरुलाई लगानिकर्ताको बीचमा राख्ने कोशिस हाम्रो रहनेछ, त्यसले फाईदा हुनेखालका कन्सेप्टहरुमा लगानी गर्न उद्ध्त गराउने हाम्रो विश्वास हो, १२ कक्षा सकेर बसेका विद्यार्थीहरुको लागि दुईवटा फाईदा हुने हामीले देखेका छौं, पहिलो फाईदा उहाँहरुले कक्षा १२ सम्मको अध्ययन गर्दा के के कुरा सिक्नु भयो ? कुनै आविष्कार गर्न सक्ने हुनु भएको पनि होला, अर्को जुन अहिलेको बिदाको समय छ, यस समयमा वर्तमान सरकारका काम कार्यहरु, प्राविधिको विकास कुन तरिकाले हुँदैछ ? समाज कता गईरहेको छ जस्ता महत्वपूर्ण कुराहरुको बारेमा जानकारी दिनेछौं तयसैले पनि यो ईभेन्टको महत्व धेरै छ ।’

राजनीतिक दलहरुका कार्यकर्ताहरुले केवल आन्दोलनमात्रै गर्न जानेको छन् अरु कुनै कुरा सिकेका छैनन् भन्ने खालको समाजमा रहेको भ्रमलाई चिर्नको लागि आफूहरुले यो कार्यक्रमको आयोजना गर्न लागिएको शाहले जनाईन् ।

उनले भनिन्,‘समाजमा हामी विद्यार्थी संगठन वा कार्यकर्ताको बारेमा ठूलो भ्रम छ, यिनीहरु केही गर्न सक्दैनन्, आन्दोलनबाहेक, कुनैबेला समय त्यस्तै थियो, आजको दिनमा हाम्रो सामुन्नेमा विकास र समृद्धिको कार्यभार उभिएको छ, हामीले पढेको शिक्षाले समाज र व्यक्तिलाई के दियो ? अबका दिनमा राजनीतिक आन्दोलनमात्र होईन, नेविसंघले प्राविधिक, औद्योगिक, समृद्धिका बारेमा काम गर्नेछ, त्यसैको सूरुवात हो यो ‘एनयसयू टेक फेस्ट’ ईभेन्टस ।’

उक्त इभेन्टमा भौतिक निर्माण र आधुनिक प्रविधि गरि दुई विधामा उपस्थित मध्येबाट एक–एक समुहलाई विजेता घोषणा गर्ने आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार विजेताले एक–एक लाख नगद रुपैयाँ प्राप्त गर्नेछन् ।

कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रममा विभिन्न क्षेत्रका लगानीकर्ताहरुको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्