काठमाडौं, २४ जेठ । संघीय समाजवादी फोरम, नेपालले नेपाल कम्युनिस्ट पार्टी नेकपासँग तत्काल एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेको छ ।
फोरमका अध्यक्षसमेत रहेका उपेन्द्र यादव सरकारमा गएपछि पछिल्लो समय विभिन्न सञ्चारमाध्यम फोरम र नेकपाबीच पार्टी एकीकरण हुन लागेको समाचारहरु सार्वजनिक भएका थिए ।
फोरम अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बिहीबार एक विज्ञप्ती जारी गर्दै नेकपासँग तत्काल एकता सम्भव नभएको बताउनुभएको हो ।
वैशाख २१ गते बसेको फोरमको केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दल र पार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको थियो ।
तर, यसबीच फोरम र नेकपाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनैपनि सम्भावना नरहेको विज्ञप्तिमा उल्लेख छ ।
जनतामा भ्रम सिर्जना हुनेगरी प्रचार भएको भन्दै असन्तुष्टि जनाउँदै अध्यक्ष यादवले प्रायोजित एवं निराधार समाचारहरुमा कुनै सत्यता नरहेको उल्लेख गर्नुभएको छ ।