Logo

शेखर कोइरालाको आरोप : संसदमा कांग्रेसका भूमिका ‘जिरो’



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले आफ्नो पार्टीले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । नेपाली रेडियो नेकटवर्कको लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा नेता कोइरालाले भने,‘अहिले मुलुकमा दण्डहिनता बढिरहेको छ । यसमा नेपाली कांग्रेसको पनि गल्ती छ । हामी संसदमा जसरी प्रस्तुत हुनुपर्दथ्यो, त्यसरी हामी प्रस्तुत हुनु सकेनौं । त्यो त नेपाली कांग्रेसको कमजोरी हो ।’

उनले संसदमा कांग्रेस पछि परेको गुनासो पोखेका छन् । उनले भनेका छन्,‘हामी बजेटमापनि पछि पर्यौं । बालकृष्ण ढुँगेलको केशमा पनि हामीले बोल्दै बोलेनौं । ढुँगेलको विषय त दण्डहिनताको पराकाष्ठा नै हो नि । हाम्रो भूमिका न्यून मात्रै होईन जिरो हो ।’ नेता कोइरालासँग गरेको कुराकानीको सम्पादित अंश :

कांग्रेस कहाँ छ आज, खोज्नुपर्ने अवस्था आयो आज होईन ?

होईन, त्यस्तो होईन ।

संसदमा तपाईहरुको भूमिका छैन ? समाचार बन्दैनन् ?

होईन, समाचार बनाउने काम त तपाईहरुको हो नि । अब बनाउनुहुँदैन भने त्यो त तपाईहरुको कमजोरी हो नि ।

आजको दिनको कुरा गर्दा तपाईहरुको जनमत कमजोर छ नि ?

होईन । हामी मिडियामा पनि गैरहेका छौं । जिल्ला जिल्ला घुमिरहेका छौं । कार्यकर्ताहरुलाई सम्बोधन गरिरहेका छौं । तर मिडिया नै विपक्षमा देखिन्छ । लोकतन्त्रको विपक्षमा देखिन्छ ।

उसो तपाईको आरोप भनेको मिडिया अहिले लोकतन्त्रको विपक्षमा छ भन्नुभएको हो ?

हो । स्पष्ट रुपमा भन्दैछु । तपाई कुनै पनि राष्ट्रिय मिडिया लिनुहोस्, ब्रोडसिट लिनुहोस, एफ.एम लिनुहोस वा टेलिभिजन हेर्नुहोस अलिकति त्यो एंगलबाट हेर्नुहोस् त्यो देखिन्छ ।

तपाईहरुसँग भीजन नै छैन ? खोई त चिन्तन ?

हामीहरुले बोलेका कुरा तपाईहरुले दिनुहुँदैन भन्ने कुरा त तपाई आँफै भन्दैहुनुहुन्छ । म थोडी न भनिरहेको छु र ?

तर तपाईले भन्नुभयो नि नेपालका मिडिया लोकतन्त्र विरोधी छ भनेर ? कसरी ?

होईन, तपाईहरु लोकतन्त्र विरोधी हो भने मैले कसरी भनेको हुँ भने अहिलेको सरकारलाई तपाईहरुले जसरी प्रोजेक्ट गर्दैहुनुहुन्छ । तर तपाईहरुले यो सरकार निरंकुशतातर्फ गैरहेको छ भनेर तपाईहरुले कहिले प्रोजेक्ट गर्नुभएको छ ?

यो सरकारले राम्रो काम गरेको छ नि ?

के राम्रो काम गरेको छ ? मलाई एउटा बताईदिनुहोस् त ।

महँगी अन्त्य गर्न पहल गरेको छ ?

महँगी त दिनदिनै बढेको बढै छ ।

सिण्डिकेट तोडेको छ ?

के सिण्डिकेट अहिले तोडिएको छ र ? कुन सिण्डिकेट तोडिएको छ ? के बसको सिण्डिकेट तोडिएको छ त भनेर म तपाईसँग अहिले प्रश्न गरिरहेको छु । सिण्डिकेट त बैंकमापनि छ, स्कूलमा पनि छ । तरकारी बजारमा पनि छ । औषधी पसलहरुमा पनि छ ।

यो सरकारले सुन तस्करहरुलाई धमाधम समातेको छ ?

कस्तो सुन तस्कर ? समातेको हेरौंला न त । तपाईको गृहमन्त्रीजीहरुले भन्दैहुनुहुन्छ कि ठूलो माछा समात्छु भनेर । म त केही भन्दिन् तर म हेर्छु नि ।

तर गृहमन्त्रीले त ठूला माछा समात्छु भन्नुभएको छ नि ?

ठूलो माछा समात्छु भनेरमात्रै हुँदैन । त्यो अदना पुलिसहरुलाई समातेर (यो ३३ किलो सुनको मात्रै कुरा होईन) म त अहिले तपाईलाई ठोकुवा गरिदिन्छु के हुन्छ भनेर । सनम शाक्यको हत्या भएका व्यक्तिहरु एक दुईजना समातिन्छन् । बाँकी सबै छुटछन् । यो कुरा लेखेर राख्नुहोला ।

कसरी त्यो सम्भव हुन्छ ? हाम्रो देशमा कानून छ नि ?

तपाई लेखेर राख्नुहोला । अस्ति ठमेलमा ८८ किलो सुन प्रहरीले समातेको होईन । पुलिसले समात्छ अनि फरार भैहाल्छ । थाहा छैन र हामीलाई के भैरहेको छ भनेर । तर तपाईहरु बोलिदिनहुँदैन । यो सरकारको गुनगान गाउँदै तपाईहरुको दिन बितिसक्यो । त्यो कुरा म भन्दैछु।

होईन, ऋषि धमलाले सरकारको गुनगान गायो भन्ने तपाईको आरोप हो ?

ऋषि धमलाको कुरा गरेको होईन मैले । सबै मिडियाको कुरा गरेको हो । ऋषि धमलाको मात्रै कुरा होईन । प्रदुषण मापन गर्ने काम गृहमन्त्रीको हो र ? कन्ट्राक्टरलाई समात्ने काम गृहमन्त्रीको हो र ? त्यसको अरु निकायहरु छन् नि । गृहमन्त्रीले गर्नुपर्ने कामहरु अरु छन्, तर उहाँ के मा फसिरहनुभएको छ भने प्रदुषण मापन गर्ने काममा । त्यो पनि मास्क लगाए । प्रधानमन्त्री किन गैरहनुभएको छ जंगी अड्डा ? यो कुरा कसैले सोधेको छ । यो दुई तीन दिनको दौरान तीन पटकसम्म जंगी अड्डा पुग्नुभएको छ । प्रधानन्यायाधीशसँग कुरा गर्नको लागि । प्रधानन्यायाधीश जंग्गी अड्डा किन जानुभयो ? यो सिरियस कुरा हो । महँगी त बढ्छ । हामीले रोकेर रोकिँदैन् ।

गृहमन्त्रीले काम नगर्ने ठेकेदारहरुलाई पनि कारबाही गर्छु भन्नुभएको छ नि ?

हेरौंला नि । कसलाई कारबाही गर्नुहुन्छ र कसलाई गर्नुहुँदैन भन्ने कुरा हामी पनि हेर्छौं नि । हामी पनि यहीँ नेपालमै छौं । बाहिर छैनौं । नेपालमा त दण्डहिनता बढिसक्यो । बालकृष्ण ढुँगेल जसलाई जन्मकैद सुनाईएको व्यक्तिलाई ६ महिनापछि रिहाई गरिन्छ । हाम्रो पनि गल्ती छ ।

कसैको चालचलन राम्रो हुन्छ भने उसको कैद मिनाहा हुन्छ ?

चालचलन हेर्ने हो भने सर्वोच्च अदालत किन चाहियो ? न्यायालय किन चाहियो ? प्रधानमन्त्रीले भनिदिए चालचलन राम्रो हुने ? अरुले भन्दैमा हुने ? प्रचण्डजीले भनिदिए चालचलन राम्रो हुने ? त्यसैले त दण्डहिनता बढेको छ । मलाई त तथाकथित मानवअधिकारवादीहरु कहाँ खुते तिनीहरु ? गंगामायाको लागि उनीहरु गोहीको आँशु बगाईरहेका छन् । तर बालकृष्ण ढुँगेललाई छोड्दाखेरि कहीँ कतै केही छैन् । बालुवाटार अकुपाईवाला ग्रुप कहाँ गयो ?

तर कानून राज्यको प्रत्याभुति दिलाउनुपर्छ नि ?

हो, तर अहिले दण्डहिनता बढिरहेको छ । यसमा नेपाली कांग्रेसको पनि गल्ती छ । हामी संसदमा जसरी प्रस्तुत हुनुपर्दथ्यो, त्यसरी हामी प्रस्तुत हुनु सकेनौं । त्यो त नेपाली कांग्रेसको कमजोरी हो ।

प्रतिनिधि सभा सञ्चालन नियामावली पनि सहमति हुन सकेको छैन ?

२०७० सालको जुन नियामावली छ, हो त्यही नियामावली राखिदिए हुन्छ ।

उसो भए फौजदारी अभियोग लागेका सांसदहरुलई निलम्बन गर्नुपर्छ भन्ने पक्षमा तपाई हुनुहुन्छ ?

हुँदैन । उनीहरुलाई कारबाही गर्नुपर्छ । नियमावाली समितिका सभापतिले तपाईसँगको कुरा मैल पनि सुनें । उहाँले गलत बोल्नुभएको थियो । २०७० सालको नियामावलीमा जे छ, त्यही राख्नुपर्छ । त्यसमा तलमाथि गर्नुहुँदैन् । तर नेगोसियट गर्ने होला। राष्ट्रपतिले सहमतिमै पारित गर्न सुझाउनुभएको छ ।

नेपाली कांग्रेसको भूमिका छायाँमा परेको छ नि ? यो त स्विकार गर्नुहुन्छ नि ?

हो । एकदम सही भन्नुभयो । हामीले जसरी प्रतिपक्षको भूमिका खेल्नुपर्दथ्यो, हो त्यो खेल्न सकेनौं । संसदमा हामी पछि पर्यौं । हामी बजेटमा पनि पछि पर्यौं । बालकृष्ण ढुँगेलको केशमा पनि हामीले बोल्दै बोलेनौं । ढुँगेलको विषय त दण्डहिनताको पराकाष्ठा नै हो नि । हाम्रो भूमिका न्यून मात्रै होईन जिरो हो ।

तपाईले यो कुरा पार्टी सभापतिलाई भन्न सक्नुभएन ?

नेपाली कांग्रेसका साथीहरु अलमलिएका छन् । हामी अलमलिएका छौं । कांग्रेसका नेताहरुसँग भीजन र दृष्टिकोण छैन भनेर म भन्दिन् । गलत कुराहरु म भन्दिन् ।

तर जनताले त परिणाम चाहेका छन् ? सत्ता पक्ष र प्रतिपक्ष मिलेर देश बनाउनुपर्छ होईन र ?

तपाईहरुमा म के देख्दैछु भने चाईनीज मोडल अफ गभर्मेन्ट अर्थात सिष्टममा जान खोज्दैहुनुहुन्छ । तपाईहरुको टेलिभिजनहरु, अन्र्तवार्ताहरु सबै सुन्दैछु । तपाईहरु समृद्धिको कुरा सोध्नुहुन्छ नि। त्यसो भए प्रतिपक्षी किन चाहियो ?

अब सबै मिलेर पाँच वर्षसम्म देश बनाउन त ?

देश बनाउनको लागि त उहाँहरुले सही काम गर्नुहोस न । बालकृष्ण ढुँगेलजीहरु जस्तालाई छुटाउनुहुन्छ त हामीले के विरोध नगर्ने ? गलत काम गर्नुभयो भने हामीले विरोध नगर्ने ? त्यो त भएन नि त ?

तपाईहरुले आफ्नो पार्टी सभापतिलाई बलियो बनाईरहनुभएको छ ?

उहाँ पार्टीको सभापति हो । बलियो त हुनुहुन्छ नि । उहाँले भनेका कुराहरु कति हामीलाई मन पर्दैन भने हामी कुरा राख्छौं नि ।



प्रतिक्रिया दिनुहोस्