काठमाडौं, जेठ २५ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कालिकोटका जनप्रतिनिधि मना सार्की कुटिएर मारिएको घटनाका दोषीलाई कारबाही गर्न सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ ।
बैठकको प्रारम्भमै समय लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गोमा देवकोटाले ‘मुलुकमा छुवाछूत अन्त्य भइसकेको अवस्थामा पनि जनप्रतिनिधि नै कुटिएर मारिनु दुर्भाग्य हो’–भनिन् ।
उक्त जिल्लाको नरहरिनाथ गाउँपालिका–९ का तत्कालीन नेकपा (एमाले) बाट दलित महिला सदस्यमा निर्वाचित सार्कीको यही जेठ १९ गते स्थानीयवासीको कुटपिटबाट निधन भएको थियो ।
सांसद देवकोटाले उक्त घटनामा संलग्न राजेन्द्र शाही र सिर्जना शाहीलगायतका दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न गृहमन्त्रीसँग माग गरिन् । रासस