Logo

अब मन्त्री र नेताहरुबाटै रक्तदानको अभियान सुरु गर्नुपर्छ : राज्यमन्त्री अर्याल



काठमाडौं, २६ जेठ । स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले रक्तदान अभियान अब मन्त्री र नेताहरुबाटै सुरु गर्नुपर्ने बताएकी छिन् ।

शनिबार ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा रगत दिने र लिने व्यक्ति, र व्यवस्थापन गर्ने संघ–संस्थावीच भएको एक दिवसीय अन्तरक्रियामा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

उनले भनिन्,‘अहिले पनि रगत दिनु भनेको डरलाग्दो कुरा भएको भन्ने भ्रम छ, यो भ्रमलाई चिर्न जरुरी छ, रगत दिँदैमा मान्छे कमजोर हुँदैन भन्ने कुरामा विश्वास दिलाउन आवश्यक छ, यसको लागि राजनीतिक दलबाटै अभियान चलाउनुपर्छ।’

रगत अभाव हुन नदिन संकलन तथा व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उनको जोड थियो । मन्त्री अर्यालले भने,‘रगत अभाव हुन नदिनको लागि हामी रणनीति बनाउँछौं, ७ वटै प्रदेशबाट रगत संकलन र स्टक राख्ने व्यवस्था गरेर रगत अभाव हुन दिँदैनौं।’

अहिलेम्म आफूले जम्मा ६ पटकमात्रै रक्तदान गरेको सुनाउँदै मन्त्री अर्यालले भनिन्,‘मलाई रगतकै समस्या भएकोले अहिलेसम्म धेरै थोरै पटकमात्रै रक्तदान गरेकी हुँ, २०४३ सालमा मैले पहिलोपटक रक्तदान गरेकी हुँ, त्यतिवेला म झण्डै आधा घण्टा बेहोस भएर ढलेकी थिएँ।’

मेडिसिटी अस्पतालका अध्यक्ष, गैर–आवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले रक्तदान जीवनदानमात्रै नभएर समृद्धिको अभियान भएको बताए ।

 

महतोले जीवनमा दान गर्दा जत्तिको आनन्द अरु केहीमा पनि नमिल्ने बताए । उनले भने,‘दान गर्न धन चाहिँदैन, ठूलो मन भए पुग्छ, पैसा र पदले समाज र राज्यको ऋण तिर्न सकिँदैन्, केही दिन नसकेपनि वर्षमा एक पटक रक्तदान गर्न सकिन्छ।’

यो पृथ्वीमा जन्मिएपछि आफूहरुले आमा–बुवा, शिक्षक, चिकित्सक तथा सुरक्षाकर्मी लगायतको ऋण बाकेको सुनाउँदै डा. महतोले भने,‘यो ऋण हामीले कहिल्यैपनि तिर्न सक्दैनौं, तपाई जति ठूलो व्यक्ति हुनुहोस्, पैसा र पोजिसनले त्यो ऋण तिर्न सक्नुहुन्न।’

आफूले लिएको त्यो ऋण तिर्ने एउटामात्रै उपाय भनेको समाजको लागि केही दिनु नै रहेको महतोको भनाई छ । उनले भने,‘हामीले अहिलेसम्म समाजबाट लियौं मात्रै, दिन्छु भनेर धेरैले भनेको सुनिन्छ, र प्रशंसापनि हुन्छ, तर दिँदा कति मजा हुन्छ भन्ने कुरा त्यो दिनेलाईमात्रै थाहा हुन्छ।’
माथिल्लो पदमा पुग्दैमा व्यक्तिले ईज्जत आर्जन गर्न नसक्ने उनको भनाई थियो ।

उनले भने,‘ईज्जत प्राप्त गर्नको लागि त मुलुकलाई समृद्ध र नागरिकलाई स्वस्थ बनाउनुपर्छ।’ नेपालको स्वास्थ्य सेवालाई अन्र्तराष्ट्रिय स्तरमा पुर्याउने आफ्नो लक्ष्य रहेको सुनाउँदै मेडिसिटी एउटा अस्पतालमात्रै नभएर महाअभियान समेत रहेको महतोको विश्वास थियो ।

डा. महतोले भने,‘नेपाललाई अन्र्तराष्ट्रिय मेडिकल हबको रुपमा विकास गर्ने सपना देखेको छु, त्यो पनि राति होईन दिउँसै देखेको सपना हो, यो अभियान मेडिसिटी अस्पतालको सञ्चालनसँगै सुरु भैसकेको छ, अब यसलाई सार्थक तुल्याउन मलाई देशका हरेक नागरिक, कर्मचारी र सरकारको साथ र सहयोग चाहिएको छ।’ उनले आगामी तीनदेखि ५ वर्षभित्रै नेपाललाई अन्र्तराष्ट्रिय मेडिकल हबको रुपमा चिनाउने अठोट सुनाए ।

महतोले सबै नेपालीहरु स्वस्थ रहुन भन्ने आफ्नो कामना रहेको सुनाए । उनले भने,‘यदि कसैको स्वास्थ्यमा समस्या भयो भने हामी स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्छौ र जीवन बचाउँछौं।’ उनले प्रत्येक परिवारका सदस्यहरुको जीवन विमा गर्नुपर्ने धारणा राखे । उनले भने,‘हामी बच्चा जन्मिँदा होस् वा अन्य कुनै खुशीयालीमा करोडौं खर्चिएर भोजभतेर लगाउँछौं, तर स्वास्थ्यजस्तो संवेदनशील कुरामा हामीले उपहास गरिरहेका छौं, तर आफ्नो लागि २० ३० हजारको जीवन विमा गर्न पछि पर्छौं।’

उनले ज्ञान हुनेले ज्ञान बेच्ने, पैसा हुनेले लगानी गर्ने स्मरण गर्दै नेपालीहरुसँग सम्मान र अतिथिहरुको सत्कार गर्ने संस्कार रहेको सुनाए । उनले भने,‘हाम्रो मन र मुटुमा नै अतिथि देवोः भवः भनेर लेखिएको हुन्छ, यसलाई बुझ्न सकियो भने नेपाललाई समृद्ध बनाउन सक्छौं।’

नागरिक स्वस्थ भए मुलुक नै समृद्ध हुने बताउँदै महतोले भने,‘मुलुक समृद्ध भए जनता आँफै खुशी हुन्छन्।’ रक्तदानको लागि आफ्नो अस्पतालले सचेतनामूलक अभियान सञ्चालन गर्न सहयोग र सक्रियतासहितको नेतृत्वदायी भूमिका निर्वाह गर्ने महतोको विश्वास थियो ।

कार्यक्रममा संयुक्त राज्य अमेरिकामा बस्ने गैर–आवासीय नेपाली संघ (एनआरएनए) का नेता एवम् १६३ पटक रक्तदान गरिसकेका रक्तदान अभियन्ता अर्जुनप्रसाद मैनालीले रक्तदानलाई जीवनदान भनेपनि नेपालमा रक्तदान गर्नेहरुको संख्या अत्यन्तै न्यून रहेकोमा दुखेसो पोखे ।

मैनालीले भने,‘अहिलेको जनसंख्या अनुसार एक प्रतिशतले मात्रै रगत दिने हो भने नेपालमा रगतको कुनै अभाव हुँदैन्, रगतको उचित व्यवस्थापन गर्न सक्यौं भने रगत नै नपाएर कसैले ज्यान गुमाउनुपर्दैन् ।’

एनआरएनएको सहयोगमा आफूहरुले विश्वका विभिन्न २२ देशमा रक्तदान अभियान चलाउँदै आएको मैनालीले जानकारी दिए । नेपाललाई रक्तदान अभियान सञ्चालन र रगत संकलनको एनआरएनएले लागि दुई करोड रुपैयाँ सहयोग गरेको पनि उनले जनाए ।

उनले रक्तदान अभियानलाई देशव्यापी रुपमा अघि बढाउन र रक्तदानसम्बन्धी उत्प्रेरणा र सचेतना फैलाउन माध्यमिक तहको पाठ्यक्रममा रक्तदान विषयलाई समावेश गर्न सरकारसमक्ष माग गरे । अहिलेसम्म आफूले विभिन्न १४ देशमा गरेको रुक्तदान अनुसार ८१ लिटर रगत दान गरिसकेको पनि मैनालीले सुनाए ।

काठमाडौं उपत्यकामा दैनिक ४५० जनालाई रगत चाहिने भएपनि दैनिक १५० जनाले मात्रै रगत दान गरेको पाईएको सुनाउँदै उनले भने,‘अब मेडिसिटी अस्पतासहित अरु अस्पतालले पनि रक्तदानबारे नियमित कार्यक्रम र अभियान चलाउनुपर्छ, अनिमात्रै रगतको अभाव पुर्ति हुन्छ।’ उनका अनुसार अहिले काठमाडौं उपत्कायमा दैनिक ७० हजार युनिट रगत संकलन हुने गरेको छ ।

मैनालीले भने,‘यतिले मात्रै पुग्दैन, यसलाई हामीले दोब्बर पार्नुपर्छ, त्यसका लागि अस्पतालहरुले नै आर्थिक तथा भौतिक सहयोग प्रदान गर्नुपर्छ।’

कार्यक्रममा रक्तदाताहरु, रक्तदानसम्बन्धी विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरु, रगत लिने र दिने, र रगत व्यवस्थापन गर्नेहरुले आ–आफ्नो अनुभव सुनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्