Logo

स्वास्थ्य सुलभताको लहर सुदूरपश्चिमबाट



जेठ २७, काठमाण्डौ । अछाम जिल्लाको विकट साँफेबगर नगरपालिका वडा नं. ९, बुढाकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

“नियमित स्वास्थ्य जाँच गराऔँ, निरोगी बनौँ“ भन्ने मूल नाराका साथ बुढाकोट स्वास्थ्य चौकीद्वारा आयोजित १ दिने निःशुल्क स्वास्थ्य शिविरमा ९ नं. वडा कार्यालयको समन्वयात्मक सहयोग एवं बयालपाटा अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।

अस्पताल आउन नसक्ने बिरामीहरूलाई ध्यानमा राख्दै आयोजित शिविरबाट करिब ४०० भन्दा बढी बिरामी लाभान्वित भएको वडाध्यक्ष ध्रुव थापाले जानकारी दिए । “अछामकै विकटमध्ये रहेको बुढाकोटमा आई आफ्नो अमुल्य समयका बाबजुत शनिबारको दिनमा गाउँका जनताको सेवामा खटिई अस्पतालका डाक्टरहरूले गर्नुभएको सहयोगका लागि हामी कृतकृत्य छौँ,“ वडाध्यक्ष थापाले भने ।

शिविरमा मुख्यतः ग्यास्ट्राइटिस (पेटको समस्या), दम, खोकी, मधुमेय, उच्च रक्तचाप, लुतो, हातखुट्टा तथा जोर्नी दुखाइ सम्बन्धी बिरामीहरू धेर सङ्ख्यामा आएको शिविरमा संलग्न डा विष्णु भण्डारीले भने ।

उक्त शिविरमा डाक्टरहरूद्वारा स्वास्थ्य जाँच गरिनुका साथसाथै ल्याव परीक्षण गरी निःशुल्क औषधी समेत वितरण गरिएको थियो । शिविरमा सेवा दिने डाक्टरहरूमा डा विकास गौचन, डा विष्णु भण्डारी र डा नवीन भट्ट थिए भने रगत र पिशाबको ल्याव परीक्षण गर्नेमा कमल विष्ट र माधव पण्डित संलग्न थिए ।

“सुगममा शिक्षा र सीप हासिल गरी दुर्गम र विकट ठाउँमा गएर सेवा दिनु नै एक सफल डाक्टरको परिचय हो ।“ डा. बिष्णुले भने । त्यसैगरी बयालपाटा अस्पतालमा आवद्ध भई दोस्रो दिनमै सेवा गर्न खटिन गएका डा. नवीन भट्टले भने, “आम मानिसको मुहारमा उपचार पाउँदा देखिने खुसीका रेखाहरूले आफ्नो कहरलाई बिर्साइदिन्छ । सुदूरपश्चिम अब विकटताको हैन, स्वस्थ समाजको चिनारी पनि बन्नुपर्छ र त्यसकै निम्ति गोरेटो कोर्ने जिम्मेवारी हाम्रो पनि हो“, डा भट्टले भने ।

करिब १० वर्ष अगाडि खुलेको बयालपाटा अस्पतालले अछाम लगायत सुदूरपश्चिमका अरू पहाडी जिल्ला बाजुरा, बझाङ र डोटीका लागि उपचारको प्रमुख आश्रयस्थल रहेको छ ।

अस्पतालका पूर्व निर्देशक समेत रहेका डा विकास गौचनले भने, “सुदूरपश्चिमको स्वास्थ्यको वैशाखी रहेको बयालपाटा अस्पताल बिरामीहरूकै सेवाका लागि चौबिसै घण्टा खुला र पूर्णरूपमा निःशुल्क छ र साथसाथै समुदाय केन्द्रित कार्यक्रमहरूमा पनि विशेष ध्यान पुर्याइरहेको छ । अब दुर्गममा स्वास्थ्य सुलभताको लहर सुदूरपश्चिमबाटै ल्याइन्छ ।”



प्रतिक्रिया दिनुहोस्