जेठ २७, काठमाण्डौ । प्रतिनिधिसभाको आईतबारको बैठकमा विनियोजन विधेयक—२०७५ को विभिन्न मन्त्रालयका विविध शीर्षकको छलफल स्थगित भएको छ ।
छलफलका लागि आवश्यक तयारी पूरा नभएको भन्दै सभामुख कृष्णबहादुर महराले बैठकका लागि राखिएको कार्यसूचिमा रहेका सम्पूर्ण विषय हटाएका हुन् । बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका विविध शीर्षकमा छलफल हुने भनिए पनि कुनै पनि मन्त्रालयले आफ्नो खर्च विवरण संसदलाई उपलब्ध नगराएपछि बैठक स्थगित भएको हो ।
आईतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकमा छलफल हुने कार्यसूची थियो । प्रतिनिधिसभाको अर्को बैठक सोमबार ११ बजे बोलाईएको छ ।