Logo

ट्रम्प–किमबीचको भेटवार्ताले शान्तिको सन्देश, गोर्खा प्रहरीले नेपालको इज्जत बढायो



जेठ २८, काठमाण्डौ । उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सिंगापुर पुगेका छन् । किम पनि सिंगापुरमै छन् ।

दुई नेताबीच भोलि मंगलबार एक होटलमा ऐतिहासिक वार्ता हुनेछ । ट्रम्प र किमबीचको भेटवार्तालाई विश्वले नै प्रतिक्षा गरिरहेको छ ।

कुटनीतिज्ञ डा. शंकर शर्माले ट्रम्प र किमबीचको भेटले अब उत्तर कोरिया पनि हातहतियार र युद्धको राजनीतिबाट टाढा हुन खोजेको सन्देश दिने बताएका छन् ।

“विश्वमा शान्ति स्थापनाका लागि उत्तर कोरिया मात्रै बाधाको रुपमा देखा परेको थियो । किनकी उत्तर कोरिया अरु कसैको कुरा नसुनि आफैँ न्युक्लियर बम बनाउन काममा लागिरहेको थियो । तर अब भने शान्ति चाहेको हो कि भन्ने देखिन्छ ।”

यसअघि अमेरिका र उत्तर कोरियाबीच आरोप प्रत्यारोप भइरहेको थियो । एकले अर्कालाई आक्रमण गर्ने चेतावनी बारम्बार दिएका थिए । जसका कारण विश्व नै त्रसित बनेको अवस्था थियो । तर अहिले दुवै देशका नेतृत्वकर्ताबीच भेटवार्ता हुँदा सम्बन्ध सुधारको अपेक्षा गरिएको छ ।

ट्रम्प र किमबीचको वार्ता स्थल वरपर गोर्खा प्रहरीले सुरक्षा दिनेछन् । सबैभन्दा बढि सुरक्षा दिनुपर्ने ठाउँहरुमा गोर्खा प्रहरी खटाइनुले नेपाल र नेपालीको पनि इज्जत बढेको शर्माको तर्क छ ।

दुवै नेताहरूले आ–आफ्नै सुरक्षाकर्मीहरू ल्याउने भए पनि सिंगापुर प्रहरीको गोर्खा टुकडीले वार्तास्थल, दुई नेता बस्ने होटल, उनीहरू हिँड्ने सडकलगायत स्थानमा सुरक्षा दिनेछन् ।



प्रतिक्रिया दिनुहोस्